काठमाडौं, १५ मंसिर । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले जनताविरुद्ध जनता भड्काउने आत्मघाती राजनीति नगर्न आग्रह गरेका छन् ।
झण्डै दुई वर्ष अगाडि आफैंले संवैधानिक-राजनीतिक संवाद समितिमा पेश गरेको प्रस्ताव अहिले सरकारले अगाडि बढाउँदा एमाले आगजनी र तोडफोडमा उत्रिएपछि पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले यसको विरोध गरेका हुन् । उनले घुमाउरो भाषामा एमालेलाई प्रश्न गर्दै भनेका छन्, ‘एमाले-कांग्रेस ले २०७१ कार्तिक १७ गते संवैधानिक -राजनीतिक सम्वाद समितिमा पेश गरेको ७ प्रदेशको प्रस्ताव (पहिलो नक्सा ) र अहिले सरकारले प्रस्तुत गरेको संशोधन प्रस्ताव (दोश्रो नक्सा )बीच के तात्विक अन्तर छ ? दुवैमा तराई/मधेसमा दुइ प्रदेश छैनन् र ?’
भट्टराई संवाद समितिको सभापति हुँदा एमाले-कांग्रेसले झण्डै दुई वर्ष अगाडि अहिले सरकारले अगाडि बढाएको जस्तै प्रस्ताव अगाडि सारेको थियो । दोहोरो राजनीतिक चरित्र देखाउने नेताहरुलाई भट्टराईले जिम्मेवार बन्न आग्रह गरेका छन् । ‘आफुले प्रस्ताव गर्दा त्यसले देश नटुक्राउने र त्यो ठुलो ‘ राष्ट्रवादी’ कदम हुने तर अहिले अरूले प्रस्तावित गर्दा त्यसले देश टुक्राउने र ‘राष्ट्रघाती’ हुने यो कस्तो तर्क हो ?,’ उनको प्रश्न छ, ‘आफु सरकारमा हुँदा आन्दोलनकारीहरू ‘अपराधी’ हुने तर आज आफुले सडकमा टायर बाल्दा र सार्वजनिक सम्पत्ति तोड़फोड़ गर्दा चाहिं ‘महात्मा बुद्ध’ हुने ?’
पुराना दलका नेताहरुप्रति व्यंग्य गर्दै भनेका छन्, ‘धन्य छ नेपालका पुराना राजनीतिक दल र नेताहरूको दोहोरो चरित्र !’ सामाजिक सञ्जालमार्फत उनले अगाडि भनेका छन्, ‘सबै जिम्मेवार बनौं, जनता विरूद्ध जनता भड्काउने आत्मघाती राजनीति नगरौं ।’