
सप्तरी, १९ मंसिर । जिल्ला प्रशासन कार्यालय सप्तरीमा बम राख्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गौरीपुर–५ का नथुनी यादव र राजविराज–५ का भवानीप्रसादलाई पक्राउ गरेको छ । गत १२ गते जिल्ला प्रशासन कार्यालय सप्तरीमा प्रेसर कुकर बम भेटिएको थियो उक्त बमलाई नेपाली सेनाको कृष्णदल गण भलुवाहीको सहयोगमा उक्त बम निष्कृय बनाइएको थियो । शनिबार मलेठ गाविस–५ बाट उनीहरूलाई पक्राउ गरिएको सप्तरी प्रहरी प्रमुख एसपी दिवेश लोहनीले बताए । उक्त बम राखिएको खैरो रंगको झोलामा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) गोइत समूहको पर्चा फेला परेको थियो । बम निष्कृय पार्ने क्रममा नेपाल प्रहरी र सेनाका पाँच जना सुरक्षाकर्मी समेत घाइते भएका थिए । पक्राउ परेकालाई संगठिन अपराध ऐन तथा बिस्फोटक पदार्थ ऐन अन्तर्गत मुद्दा चलाइएको एसपी लोहनीले जानकारी दिए ।