आश्विन १, २०७३ हिन्दु परम्पराअनुसार आजदेखि पितृपक्ष अर्थात सोह्रश्राद्ध सुरु भएको छ । चाडपर्व यज्ञयज्ञादी तथा ठूला कार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने शास्त्रीय परम्परा अनुसार सोह्रश्राद्ध गर्ने गरिएको धार्मिक मान्यता छ । सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पुरा हुनुका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास रही आएको छ ।
यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता समेत रहेको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गर्ने गरिन्छ । सोह्र श्राद्धभर काठमाडौंको उत्तर पूर्वमा रहेको गोकर्णेश्वरमा श्राद्ध गर्नेको भीड लाग्ने गर्दछ । सोह्र सकिएको भोलीपल्टबाट नौरथा सुरु हुन्छ ।
स्रोत :- रेडियो कान्तिपुर



