काठमाडौं, २२ मंसिर । व्यवस्थापिका–संसद्को बैठकलाई अघि बढाउन सभामुख ओनसरी घर्तीले दलहरुसँग छलफल गर्ने भएकी छिन् ।
व्यवस्थापिका संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकमार्फत दलका प्रमुख सचेतकहरुसँग उनले छलफल गर्नेछिन् । संसदमा भइरहेको अवरोधका कारण अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथिको महाअभियोग प्रस्तावमाथिको छलफल लगायतका अन्य विषयहरु समेत प्रभावित भएकाले त्यसको टुङ्गो लगाउने गरी छलफल गर्न लागेकी हुन् ।
छलफलका लागि उनले बिहान ११ बजे बैठक बोलाएकी सभामुखका प्रेस सल्लाहकार बबीन शर्माले जानकारी दिए । संसदमा प्रधानन्त्री र सांसदबीच प्रत्यक्ष प्रश्न उत्तरको कार्यविधि टुङ्गो लगाउने, अवरुद्ध संसद खुलाउन र अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्की विरुद्धको प्रस्तावमा छलफल सकेर समितिमा पठाउने वातावरण तयार गर्ने तीनवटा एजेण्डा सभामुखले राख्ने बताइएको छ ।
आजै संसदको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । संविधान संशोधन प्रस्ताव दर्तासँगै एमालेले संसद चल्न दिएको छैन । यसबाट महाअभियोगमाथिको छलफल समेत पूर्णरुपमा प्रभावित भएको छ ।
साझापोस्ट बाट सभार