२३ मंसिर । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई बिहीबार पोखरा पुगेका थिए । पृथ्वीनारायण क्याम्पसमा नयाँ शक्ति विद्यार्थी युनियनले नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्न आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एक युवकले डा. भट्टराईलाई कालो झण्डा देखाए ।
सञ्जिव भट्टराई नाम गरेका ती युवाले कालो झण्डामात्र देखाएनन्, आफैँले लगाएको जुत्ता फुकालेर मञ्चतिर फाले पनि । यद्यपी उनले फालेको जुत्ता मञ्चमा सम्बोधन गरिरहेका डा. भट्टराईको आसपासमा पनि पुगेन ।
डा. भट्टराईलाई कालोझण्डा देखाएपछि नयाँ शक्तिसम्बद्ध विद्यार्थीहरुले ती युवकलाई हातपात गर्न थाले । तर, भट्टराईले संयमतापूर्वक परिस्थितिलाई सम्हाले । आफैँलाई दुर्व्यबहार गर्ने युवकलाई हुलमुलबाट पनि जोगाए ।
जुत्ता प्रहार गर्ने युवकले शीर्ष नेताहरुले देश बिगारेकाले भट्टराई पनि शीर्ष नेतामध्ये एक भएकाले जुत्ता प्रहार गरेको बयान प्रहरीमा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीलाई पनि भेट्दा जुत्ता हान्ने सोच बनाएको उनले बताएका छन् ।
के भने भट्टराईले ?
‘भट्टराईले सम्बोधन गरिरहँदा एक्कासी होहल्ला सुरु भयो ।
त्यसपछि भट्टराईले मञ्चबाटै भने,
छोड्दिनुस्, छोड्दिनुस् केही हुँदैन ।
ए भाइ देखाउनुस्, देखाउनुस् ।
ए भाइ त्यसो नगर हेर्न देऊ–देऊ ।
ए भाइ मैले देखेँ तपाईंको । देखाउन दिनुस्, केही फरक परेन ।
हामी सबैले कालै लुगा लगाएका छौँ, मैले पनि लगाको छु, त्यो एउटा कालो टुक्रोले केही फरक पर्दैन ।
गर्न दिनुस्, ए भाइ नलखेट्नुस् । ठीक छ पख्नुस्, पखनुस् हामी सबै कालै छौँ । उहाँले सानो कालो झण्डा देखाइराख्नुभाछ, मैले देखिसकेँ ठीक छ । हुन दिनुस् उहाँलाई ।
त्यसैले साथीहरु म के आग्रह गर्न चाहन्छु भने यो पनि एउटा स्वरुप हो । शान्तिपूर्ण ढंगले विरोध अभिव्यक्त गर्न पाउँछ । आफ्नो विचार व्यक्त गर्ने कुराको हामी सम्मान गर्छौँ । म उहाँलाई सम्मान गर्छु, तपाईंले अन्यथा नलिनुस् ।
म के भन्दै थिएँ भने ……।’
सम्बोधनका क्रममा भट्टराईले देशलाई समृद्ध बनाउन विद्यार्थीको भूमिका महत्वपूर्ण हुने बताए ।
कार्यक्रमलाई संयोजक डा. भट्टराईसहित संगठन विभागप्रमुख देवेन्द्र पौडेल, प्रदेश नं. ४ संयोजक वलावति शर्मा, नेतृ करिश्मा मानन्धर लगायतले सम्बोधन गरेका थिए ।
‘कार्यक्रम उत्साहजनकरुपमा सम्पन्न भएको छ,’ संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले भने, ‘हजारौँ युवा विद्यार्थीहरुको सहभागीता माकार्यक्रम गर्यौँ ।’
https://youtu.be/WPkLY9dIYNU
भिडियो: Aarju Bista
साझापोस्ट बाट सभार गरिएको



