
२८ मंसिर । २०६२/६३ को जनआन्दोलनका मुख्य दोषीमध्ये एक तत्कालीन गृहमन्त्री कमल थापा थिए । जनआन्दोलनमा जनतालाई गोली हान्न आदेश दिने उनै थापा थिए ।
दृष्टि साप्ताहिकमा खबर छ– लोकतन्त्र आएपछि उनको राजनीतिक करिअर लगभग समाप्त हुने धेरैले आँकलन गरेका थिए । तर, नेपालको राजनीतिमा जहिले जे पनि हुनसक्छ । जनआन्दोलनको १० वर्षपछि उनै थपा अहिले प्रधानमन्त्री हुने खेलमा लागेका छन् ।
हिन्दुराष्ट्रको नाराका कारण दोस्रो संविधानसभामा अप्रत्याशित मत ल्याएका थापा फेरि राजनीतिमा उदाएका हुन् । केपी ओली नेतृत्वको सरकारको पालामा परराष्ट्रमन्त्री रहँदा उने प्रशंसा बटुले । खासगरी भारतले लगाएको नाकाबन्दीको समयमा उनले खेलेको भूमिकाको प्रशंसा भएको थियो ।
राप्रपासँग एकीकरण गरेर उनले पार्टीलाई ठूलो मात्र बनाएका छैनन्, उनी सरकारमा जाने रणनीतिमा लागेका छन् । वर्षौंदेखि दुई पार्टीबीतको एकीकरण विवाद एक्कासी मिल्नुलाई पनि धेरैले आश्चार्यका साथ हेरेका छन् । स्रोतका अनुसार दुई पार्टीको एकीकरणमा भारतका केही हिन्दुवादी नेताहरुको समेत भूमिका छ ।
स्रोतका अनुसार थापाले अबको केही महिनापछि आफूलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गर्दैछन् । प्रचण्ड नेतृत्को सरकार बढीमा अबको चैतसम्म रहने आँकलन गरिएको छ ।
त्इसपछि नयाँ सरकार गठनको खेल सुरु हुने निश्चित छ । तर, प्रचण्ड सहजै प्रधानमन्त्री पद त्याग्ने पक्षमा छैनन् । जसकारण कांग्रेस र माओवादी केन्द्रबीच त्यो अवस्थामा विवाद हुने छ ।
त्यही बेला थापा आफूलाई प्रधानमन्त्री उम्मेदवार बन्ने खेलमा लागेका छन् । जसका लागि उनले दक्षिण छिमेकी भारतसँग सेटिङ मिलाएका छन् । सरकारको नेतृत्व गरिरहेको भाजपा पनि नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न चाहन्छ ।