२८ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित विपक्षी ८ दलले संविधान संशोधन प्रस्ताव फिर्ता नलिएसम्म सदनको अवरोध कायमै राख्ने निर्णय गरेका छन् ।

तर, यदि सरकारले चुनावको मिति घोषणा गरेमा चुनावमा सहभागी हुने उनीहरुको निर्णय छ । यस्तो अवस्थामा चुनावमा सहभागी हुँदा संविधान संशोधनको विरोधलाई प्रमुख एजेण्डा बनाउने सहमति बैठकमा भएको बताइएको छ ।
बैठकपछि एमाले प्रमुख सचेतक भानुभक्त ढकालले संविधान संशोधन प्रस्ताव फिर्ता नलिएसम्म संसदको अवरोध कायमै राख्ने निर्णय भएको जानकारी दिए ।
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवासहितको त्रिपक्षीय बैठकमा सहभागी भएका थिए ।
सो बैठकमा तीन शीर्ष नेताबीच स्थानीय निकायको निर्वाचनको मिति तय गर्ने सहमति जुटेको थियो ।



