मंसिर २९ – महानगरीय प्रहरी अपराध महाशाखाले युवतीसँगको यौन सम्बन्धकै कारण काठमाडौंको जोरपाटीमा बस्दै आएका राजकुमार लामाको हत्या भएको ठहर गरेको छ ।

प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा काठमाण्डौं जिल्ला गोकर्णेश्वर नगरपालिका-१३ नयाँबस्तीमा हेलम्बु रेष्टुरेण्टकी सञ्चालिकासहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा संगीता राई, मागधन राई, अरुण माझी, दिया माझी र माया तामाङ रहेका प्रहरीले जनाएको छ । दोलखा भिमेश्वर घर भई नयाँबस्ती बस्ने लामाको मृत्युपछि स्थानीय बासिन्दाले नयाँवस्तीमा रहेको प्रहरी बिटमा आक्रमण गरेका थिए ।

कसरी भयो हत्या ?

मंसिर २५ गते बेलुकी साढे ४ बजे  बा २ ज २२३ नम्बरको ट्याक्सी चालक मृतक राज कुमार लामा संगिता राईले संचालन गरेको हेलम्बु रेष्टुरेण्टमा गएर तुम्बा मागेका थिए । रेष्टुरेन्टमा काम गर्ने काभ्रे घर्तीछाप स्थायी घर भएकी माया तामाङले लामालाई तुम्बा लगिदिइन् र त्यसक्रममा उनीहरुको परिचय भयो ।

तुम्बा तानेर फर्केका लामा बेलुकी ६ बजे पुन रेष्टुरेन्टमा पुगे । साहुनी संगिता राई र मायासँगै बसेर भोड्का पिए । केहिबेरपछि माया तामाङलाई दोहोरी जान कर गरे ।  राजकुमार लामाले निकै कर गरेपछी माया तामाङ दोहोरी जान राजि भएको उनीहरु राती साढे ८ बजे राजकुमार लामाकै ट्याक्सी चढेर नयाँ बस्तीबाट गौरीघाटतर्फ गएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

उनीहरु नयाँबस्तीमा नै रहेको एरिना फुट्सल नजिकै पुग्दा ट्याक्सी खाल्डोमा फसेको थियो । ट्याक्सी बाटोको खाल्डोमा फसेपछि राजकुमार लामा र माया तामाङ अर्को ट्याक्सीमा चढेर पुनः माया तामाङले काम गर्ने रेष्टुरेण्टमा फर्केका थिए । उनीहरु साढे ९ बजे  रेष्टुरेण्टमा पुग्दा सबैजना सुति सकेका थिए । त्यसैले उनीहरु रेष्टुरेण्टको अण्डरग्राउण्डमा पुगे । त्यहाँ उनीहरुले शारीरिक सम्पर्क पनि राखेको प्रहरीको दावी छ । शारिरिक सम्पर्क राख्ने क्रममा राज कुमार लामाले आफूले शारिरीक सम्पर्क राख्नको लागि पैसा दिएको दावी गरे । तर माया तामाङले आफूले पैसा नपाएकोले पैसा कसलाई दिएको भनेर बारम्बार सोधिन् । राज कुमारले जसलाई दिए पनि दिएको छु भनेको तर कसलाई दिएको भन्ने स्पष्ट नपारेको प्रहरीले भनाई छ ।

राज कुमार लामाले पुन शारीरिक सम्पर्क राख्न खोजेपछि माया तामाङले नमानेको र   रक्सीले मातेको राज कुमार लामा र माया तामाङ बिच धकेला धकेल हुने क्रममा राज कुमार लामा भूईंमा लडेको अनुसन्धानका क्रममा खुलेको छ । राज कुमार लामा लडेपछि उठ्न नसकेको र रेष्टुरेण्ट संचालिका संगिता राईका भाइ मागधनले धारा छेउमा रहेको पर्खालको ईट्टाले राजकुमार राईको टाउकोमा प्रहार गरेका थिए । उनी घर बनाउने काम गर्ने र बिहान बेलुका रेष्टुरेण्टमा खाने बस्ने र सुत्ने गरेका थिए ।

त्यसपछि माया तामाङ दोस्रो तलामा रहेको संगिता राईको कोठामा गई कपडा परिवर्तन गरी सुतेको थिइन् । त्यसको केही समयपछि संगिता राईका छोरा अरुण माझीले मानिस लडेको थाहा पाई संगिता राईलाई जानकारी गराएको र संगिता राईले प्रहरी बिट नयाँबस्तीमा  खबर गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रहरी विटमा ड्युटीमा रहेका प्रहरी जवानले घटनास्थलमा पुगेर घाईतेको आफन्तलाई बोलाई ट्याक्सीमा राखेर तत्काल उपचारको लागि बौद्ध स्तुफा अस्पताल पठाएकोमा  अस्पतालले नेपाल मेडिकल कलेज अत्तरखेल पठाएको र अस्पताल पुर्याएिको केही समयपछि उनको ज्यान गएको प्रहरीले दावी गरेको छ ।

२५ गते राति राजकुमारको ज्यान गएपछि २६ गते बिहानै स्थानीय बासिन्दाले घाइतेलाई उपचारका लागि अस्पताल लैजान सहयोग नगरेको भन्दै नयाँ वस्तीमा रहेको प्रहरीबिटमा आक्रमण गरेका थिए । प्रहरीले आक्रमणमा संलग्न रहेको भन्दै केही युवालाई २६ गते नै पक्राउ गरेको थियो ।  उज्ज्यालो अनलाईन बाट सभार

प्रतिक्रिया

सम्बन्धित खवर