काठमाडौ ३० मङ्सिर । अनेरास्ववियुमा कार्यविभाजनको विषयलाई लिएर फेरि विवाद भएको छ ।
महासचिव ऐन महरले निर्णय विपरीत केन्द्रीय सदस्यको कार्यविभाजनको परिपत्र जारी गरेको भन्दै केही पदाधिकारीले विरोध जनाएका छन् । सचिव सुदेश पराजुलीले महासचिव महरले पार्टी परिपत्र र बैठकको निर्णय विपरीत परिपत्र जारी गरेकाले मान्य नभएको बताउनुभयो । ‘‘पदाधिकारी बैठकमा एउटा निर्णय भएको थियो तर महासचिवले त्यो निर्णयलाई फेरबदल गरेर कार्य विभाजन गरी सर्कुलर पठाउनुभएको छ’’उहाँले भन्नुभयो–‘‘सर्कुलर निर्णय विपरीत रहेकाले हामीलाई मान्य छैन ।’’
असन्तुष्ट पक्षले निर्णय सच्चाउन माग गर्दैै आज आफू पक्षीय भेला आयोजना गरेको छ ।
अध्यक्ष नवीना लामाले पठाइएको परिपत्रमा केही जिम्मेवारीमा फेरबदल भएकाले सच्चाउनुपर्ने बताउनुभयो । उपाध्यक्ष सुनिता बरालले भने सबैको सहमतिमा नै कार्यविभाजन गरेर परिपत्र जारी गरिएको बताउनुभयो ।
महासचिव महरले आज तल्ला तहमा केन्द्रीय सचिव, सचिवालय सदस्य र केन्द्रीय सदस्यको कार्यविभाजन गरिएको परिपत्र पठाउनुभएको थियो । महाधिवेशन भएको नौ महिना भइसक्दा पनि विवादका कारण अझै कार्यविभाजन भएको छैन ।



