विराटनगर, १ पुस । मोरङमा सन् २०१५ को तुलनामा सन् २०१६ मा हत्या लगायतका घटनामा वृद्धि भएको छ ।

सन् २०१५ मा मोरङमा एक महिलासहित चारजनाको गैरराज्य पक्षबाट हत्या भएको थियो भने सन् २०१६ मा १६ जनाको हत्या भएको छ ।

सोमध्ये गैरराज्यपक्षबाट १० पुरुष र तीन महिला गरी १३ जना र राज्यपक्षबाट एक महिला गरी तीन जनाको हत्या भएको अनौपचारिक सेवा केन्द्रद्वारा आज विराटनगरमा नेपाल मानवअधिकार वर्ष पुस्तक– २०१७ को वार्षिक समीक्षा कार्यक्रममा सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यसका साथै मोरङमा सन् २०१६ मा मानवअधिकार हनन् र ज्यादतीका कूल गरी ९९ वटा घटना भएको हो ।

सोमध्ये राज्य पक्षबाटबाट तीन र गैरराज्य पक्षबाट ९६ वटा घटना इन्सेकले अभिलेखिकरण गरेको सो संस्थाका जिल्ला प्रतिनिधि इन्दिरा भट्टराईले जानकारी गराउनुभयो ।

त्यस्तै, घरेलु हिंसामा ५०, बलात्कारबाट सात, यौनजन्य दुव्र्यवहारबाट तीन, एक कुटपिट, एक बहुविवाह र एक बोक्सीको आरोप समेत गरी ६३ वटा महिलाका हिंसाका घटना भएको हो ।

सन् २०१५ मा १८३ महिलासहित २९९ जना पीडित भएका थिए । सोमध्ये राज्यपक्षबाट १२ महिला गरी १०४ जना र गैरराज्य पक्षबाट १७१ महिलासहित १९५ जना पीडित भएका थिए । सोही अवधिमा तीन बलात्कार, ६ बलात्कारका प्रयासका घटना भएको थियो ।

यस्तै, सन् २०१६ मा बालअधिकार हनन्का १६ वटा घटना सार्वजनिक भएकामा सबै घटनामा बालबालिका बलात्कारको घटनाबाट पीडित भएको इन्सेक प्रतिनिधि भट्टराईले जानकारी गराउनुभयो ।

सन् २०१५ मा २९ वटा बालअधिकारका घटना सार्वजनिक भएकामा २१ वटा बलात्कारको घटना, ६ वटा बलात्कारको प्रयास, दुई बेचबिखन र दुई यौनदुव्र्यवहार पीडित भएको थियो ।

सो अवसरमा अनौपचारिक सेवा केन्द्र (इन्सेक)का पूर्वाञ्चल संयोजक सोमराज थापाले कार्यक्रमको अध्यक्षता गर्दै घटनाको प्रकृति हेर्दा युवाहरु आपराधिक मनोवृत्तिमा उन्मुख हुँदै गएको पाइनु चिन्ताजनक विषय रहेको जानकारी दिनुुभयो ।

समाजसेवी गोयलद्वारा कम्बल प्रदान

यसैबीच, समाजसेवी दिनबन्धु गोयलले आज जिल्ला प्रहरी कार्यालय मोरङलाई ६० थान कम्बल र पाँच थान म्याट्रेस प्रदान गर्नुभएको छ ।

समाजसेवी गोयलले आज जिल्ला प्रहरी कार्यालयमा आयोजित हस्तान्तरण समारोहमा प्रहरी उपरीक्षक सन्दिप भण्डारीलाई ती सामग्री प्रदान गर्नुभयो ।

सो अवसरमा प्रहरी उपरीक्षक भण्डारीले हिरासतमा रहेका थुनुवालाई चिसोबाट जोगाउन निक्कै फलदायी हुने बताउनुभयो ।

समाजसेवी गोयलले भविष्यमा पनि यस्ता कार्यलाई निरन्तरता दिइरहने जानकारी गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर