काठमाडौँ, २ असोज । सरकारले चालू आर्थिक वर्षदेखि नै सबै प्रकारका सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फत प्रदान गर्ने घोषणा गरेको भए पनि तत्काल कार्यान्वयन गर्न भने कठिन हुने देखिएको छ ।
अघिल्लो सरकारको नीति तथा कार्यक्रममा सबै प्रकारका सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फत प्रदान गर्ने घोषणा गरिएको थियो । बैङ्कमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दा बैङ्कलाई सरकारले कुनै न कुनै रूपमा छुट वा सहयोग गर्नुपर्ने, कतिपय जिल्लामा अझै पनि बैङ्किङ सुविधा नपुगेको, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति बैङ्कसम्म पुग्न नसक्ने अवस्था भएकाले तत्काल बैङ्कमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न कठिन हुने सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको पञ्जीकरण विभागले जनाएको छ ।
सरकारले नीति तथा कार्यक्रममार्फत सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फत वितरण गर्ने घोषण गरे पनि सबै जिल्लामा भने कार्यान्वयन हुन कठिन देखिएको छ । सामाजिक सुरक्षा भत्ता वितरणका लागि बैङ्कमा खाता मात्र खोलेर लाभग्राहीले रकम पाउन नसक्ने र त्यसका लागि आवश्यक सबै प्रबन्ध मिलाउन समस्या भएको हुँदा तत्काल कार्यान्वयन हुन गाह्रो छ । कास्की जिल्लाका सबै गाविस र नगरपालिकामा भने यस वर्षदेखि नै सबै प्रकारका सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फत वितरण गर्ने तयारी पूरा भइसकेको बुझिएको छ ।
स्थानीय निकायबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दा मृत्यु भइसकेका व्यक्तिको नाममा पनि आफन्तले भत्ता बुझ्न थालेपछि सरकारले सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फत वितरण गर्ने घोषणा गरेको थियो ।
यस वर्ष सरकारले देशभर सामाजिक सुरक्षा भत्ता वितरणका लागि ३२ अर्ब ६९ करोड ९९ लाख ९९ हजार रुपियाँ बजेट विनियोजन गरेकोे छ । गोरखापत्र दैनिकमा खबर छ ।



