काठमाडौं, ४ पुस । तिब्बती धर्मगुरु दलाई लामाको स्वागत गरेको भन्दै चीनले ‘नाकाबन्दी’ गरेपछि मंगोलियाका विदेशमन्त्री सहयोग माग्न आइतवार साँझ नेपाल आइपुग्दैछन् ।

धार्मिक भ्रमणमा पुगेको दलाई लामालाई मंगोलियाको राजधानी उल्लानबाटरमा स्वागत गरिएपछि रिसाएको चीनले ‘नाकाबन्दी’ गर्दा आइपरेको अफ्ठेरोबीच त्यहाँका विदेशमन्त्री सेन्द मुन्ख अर्जिल दुई दिने नेपाल भ्रमणमा निस्केका हुन् ।

उत्तरतर्फ रसिया तथा पूर्व, पश्चिम र दक्षिणतर्फ चीनको विशाल भूगोलको घेराबन्दीमा रहेको मंगोलिया विश्वकै ठूलो भूपरिवेष्ठित मुलुकका रुपमा रहेको छ । नेपाल जस्तै समुद्रले नछोएको यो देशको तेस्रो मुलुकको सबै व्यापार चीनसँग निर्भर रहेको छ । चीनकै बाटोबाट समुद्रको पहुँच लिइरहेको मंगोलियामा मंसिर पहिलो साता दलाई लामा पुगेका थिए ।

दलाई प्रकरणमा चीनले आफ्नो भूमिबाट हुने यातायात तथा आपूर्ति सेवा ठप्प पारेपछि संकटमा परेको मंगोलियाले पटक पटक भारतको नाकाबन्दी खेपिरहेको नेपालसँग भूपरिवेष्ठित राष्ट्रका अधिकारबारे संयुक्त आवाज उठाउनका लागि वार्ताको प्रस्ताव गरेको थियो ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मंगोलियाले विदेश मन्त्रीलाई पठाएर वार्ता गर्न चाहेपछि उसैको इच्छा अनुसार मुन्च–अर्जिलको दुई दिने नेपाल भ्रमण भएको हो । नेपालले भारतबाट पटक पटक नाकाबन्दी भोगिरहेकाले मंगोलियाले यहाँबाट सिक्ने तथा भूपरिवेष्ठित राष्ट्रको अधिकार अन्तरराष्ट्रिय मञ्चमा बलियोरुपमा उठाउन सहकार्य गर्न चाहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

चीनको अघोषित नाकाबन्दीले अफ्ठेरोमा परेको मंगोलियाले संवाद गर्ने इच्छा जाहेर गरेपछि सरकारले विदेशमन्त्री मुन्च–अर्जिललाई नेपाल भ्रमणको निम्तो दिएको थियो ।

‘मंगोलियाकै प्रस्ताव र अनुरोधमा यो भ्रमण तय भएको हो । भ्रमणका क्रममा दुई राष्ट्रका परराष्ट्रमन्त्रीबचमा छलफल हुने कार्यक्रम तय भएको छ’, परराष्ट्र स्रोतले भन्यो, ‘विदेश मन्त्री अर्जिलले नेपालका प्रधानमन्त्री र राष्ट्रपतिलाई पनि भेट्ने कार्यतालिका तय भइसकेको छ ।’ कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय