काठमाडौं, ६ पुस । केपी ओलीले प्रचण्डलाई सोध, ‘प्रतिपक्षीहरु प्रतिगमनको हतियार बने भनेर तपाईंले प्रधानमन्त्रीको हैसियतले भन्या कि पार्टी अध्यक्षको नाताले ? यो कुरा पहिला प्रष्ट पार्नुस् ।’
उपाध्यक्ष वामदेव गौतमले आइतबार युवा संघको एक विभागले आयोजना गरेको कार्यक्रममा गरेको भाषणलार्य उद्धृत गर्दै प्रचण्डले भने, ‘वामदेवजीले संघीयता नै खारेज भइसक्यो भन्नुभा’छ !’
ओलीले वामदेवको डिफेन्ड गर्दै भने, ‘उहाँले खारेज होइन, सुधार गर्नुपर्छ भन्नुभाको हो । अपव्याख्या गर्ने ?’ अनि वामदेवले आफैं बोल्न थाले, ‘के यो संघीयता भनेको क्रान्तिको विषय हो ? पुँजीवादी अधिकारहरु राजधानी केन्द्रित भए । त्यसलाई सुधारेर विकेन्द्रीकरण गर्ने हो, संघीयता भनेको । यसका आफ्ना मोडल छन् । पाँच सातवटा देशमा राजासहितका संघीयता छन् । पाकिस्तानमै पनि संघीयता छ ! तर त्यहाँ कतिचोटि सैनिक शासन लागू भइसक्यो ? यो भनेको फौजी शासक, राजादेखि सबैलार्य टाकटुक पार्ने व्यवस्था भयो ।’
‘रुसका प्रत्येक गणराज्यपिच्छे आफ्ना राष्ट्रपति र अलग्गै संविधान छन् । तर, ती सबलाई कन्ट्रोल गर्छ कसले त भन्दा पुटिनले ! भारतमा पनि २९ वटा राज्यलाई राष्ट्रपतिले गभर्नर (राज्यपाल) मार्फत् चलाउँछन् । हामीले चाहिँ कतैको कुरा सिक्दै नसिकी, यसरी लादेर बनाउनुहुन्छ ? हाम्रो अनुकूलको संघीयता बनाऔं भनेर भन्न नपाईने ?’
यस्तो गलफत्ति चलेको हो, सोमबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित सभामुखको कार्यकक्षमा । तीन दलका ठूला नेताबीच संसदीय गतिरोध अन्त्य गर्नेबारे छलफल चलिरहँदा कांग्रेस सभापति शेरबहादुर देउवाले बबाल गरे, ‘पाँच नम्बरको सिमाना यताउता गर्दैमा कहाँ राष्ट्रघात हुन्छ ?’ भन्दै । वामदेवले बोल्न खोज्यो कि हल्ला गरेर बोल्न नदिने कराउने ‘देश कसरी टुक्रिन्छ ? हाम्रो क्षेत्रमा थारुहरु पछि आएका हुन् !’ वामदेवले भने, ‘थारुको माग के छ, तपार्यंलाई थाहा छ ? कैलाली, कञ्चनपुर दिनुहुन्छ ?’ देउवाले भने, ‘कहाँ दिन्छु ? देश कसरी टुक्रिन्छ ?’
वामदेवले भने, ‘मैले सारा थारुसँग कुरा गरेँ । उनीहरु पाँच नम्बरमा मिसिन तयार छन् । राप्ति र लुम्बिनीका तीन जिल्लालाई ठीकै भाथ्यो । किन जबरजस्ती टुक्र्याउनु पर्यो ? त्यसो भए, कैलाली कञ्चनपुर दिनुस् न त !’
देउवा फेरि कराए, ‘त्यहाँ कसरी हुन्छ ? हुँदैन !’ यसरी देउवासँग एमालेहरुको घच्चाघच्ची नै पर्यो । जनआस्था साप्ताहिकमा खबर छ ।



