काठमाडौं, ७ पुस । मंगलबार र बुधबार प्रधानमन्त्री प्रचण्ड पूर्वनिर्धारित कार्यक्रममा व्यस्त बनेपछि दलहरूबीच कुनै संवाद हुन सकेन ।
मंगलबार सुर्खेत, त्यसपछि हुम्लामा ल्हिसा नाका उद्घाटन कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री प्रचण्ड कैलालीमा आयोजित पार्टी कार्यक्रममा सहभागी भएर बुधबार साँझ मात्रै काठमाडौं फर्किएका छन् । प्रधानमन्त्रीको व्यस्तताका कारण छलफल हुन नसके पनि बिहीबारबाट निरन्तरता पाउनसक्ने उनका स्वकीय सचिव रमेश मल्लले बताए ।
‘प्रधानमन्त्रीज्यू कार्यक्रममा व्यस्त रहेका कारण पनि छलफल हुन नसकेको हो, बिहीबारबाट फेरि छलफल अघि बढन सक्छ,’ मल्लले भने ।
बिहीबारको बैठक पनि अनिश्चित
गत सोमबारको बैठकमा संशोधन विधेयकलाई छलफलको कार्यसूचीमा प्रवेश गराइएपछि एमालेसहित विपक्षी आठ दल थप आक्रोशित छन् ।
विधेयक फिर्ता नभएसम्म संसद् अवरोधलाई निरन्तरता दिने अडानमा रहेका उनीहरूले आन्दोलन चर्काउन आगामी १७ गते काठमाडौंको खुलामञ्चमा आमसभा गर्ने घोषणा गरेका छन् । गतिरोधको निकास खोज्न सरकारले कुनै पहल नगरेको जनाउँदै एमालेसहितका विपक्षी दलले बिहीबारको संसद् बैठकमा पनि अवरोध जारी राख्ने जनाएका छन् ।
‘प्रधानमन्त्रीज्यू बिहानदेखि बेलुकीसम्म कार्यक्रममार्फत प्रतिपक्षी दलहरूलाई आशीर्वचन दिनमै व्यस्त देखिनुभएकाले बिहीबारको बैठकमा के होला भन्ने कुरा दोहोर्याइरहनुपरेन,’ एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ‘उहाँहरू (सत्तारुढ दलहरू)को गैरजिम्मेवारपनका कारण संसद् अवरोधले निरन्तरता पाउनेछ ।’
कार्यसूचीमा सहमति खोज्न कार्यव्यवस्थाको बैठक
निर्वाचनसम्बन्धी कानुन, महाअभियोग प्रस्ताव, संविधान संशोधन विधेयकलगायतका संसद्मा छलफलको कार्यसूची रहे पनि सोमबारको बैठकमा एमालेसहित विपक्षी आठ दलले अवरोध गरेपछि छलफल हुन सकेन । सभामुख घर्तीले बिहीबारको संसद् बैठकको कार्यसूचीमा सहमति खोज्न १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएकी छिन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।



