९ पुस । अर्को सातादेखि भारतबाट ४० र त्यसपछि अर्को ४० मेगावाट गरी थप ८० मेगावाट बिजुली आउने निश्चित भएपछि यसपालि हिउँदमा लोडसेडिङ नहुने सम्भावना देखिएको छ ।
पुस महिनाभर लोडसेडिङ गर्नु नपर्नेमा विद्युत् प्राधिकरण ढुक्क छ भने त्यसपछिका दिनमा सकेसम्म लोडसेडिङ नहुने गरी व्यवस्थापन गर्न लागिएको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
भारतले पुस १७ देखि नेपाललाई ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय सीमापार प्रसारण लाइनबाट थप ४० मेगावाट बिजुली दिने सम्झौता गरेपछि हिउँदयामको विद्युत् आपूर्ति व्यवस्थापनमा सहज हुने प्राधिकरणको विद्युत् व्यापार विभागका प्रमुख प्रबल अधिकारीले बताए । हाल उक्त प्रसारण लाइनबाट ८० मेगावाट बिजुली आयात भइरहेको छ ।
नयाँदिल्लीमा भारतीय कम्पनी एनभीभीएन ९एनटीपीसी विद्युत् व्यापार निगम० र विद्युत् प्राधिकरणका पदाधिकारीबीच बिहीबार विद्युत् खरिद सम्झौता भएपछि नेपालले ४० मेगावाट थप बिजुली पाउने भएको हो ।
एनभीभीएन भारतको नेसनल थर्मल पावर कर्पोरेसनको सहायक कम्पनी हो । दुई देशबीच विद्युत् व्यापारका लागि भारतले उक्त कम्पनीलाई अख्तियारी दिएको छ ।
नेपालले यसअघि सोही प्रसारण लाइनबाट आयात गरिरहेको साविककै विद्युत् खरिद दर प्रतियुनिट भारु ३.६० ९पाँच रुपैयाँ ७६ पैसा० मुजफ्फपुर बिन्दुमा कायम रहने गरी सम्झौता भएको अधिकारीले बताए ।
सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एनभीभीएनका प्रमुख कार्यकारी अधिकृत अरुणकुमार गर्गले हस्ताक्षर गरे ।



