९ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहितको नौ दलले यसअघि पुस १७ गते काठमाडौँमा गर्ने भनिएको बृहत् प्रदर्शन पुस २२ गतेका लागि सारिएको छ । अङ्ग्रेजी नयाँ वर्षलाई ख्याल गर्दै प्रदर्शनको मिति सारिएको नेताहरूले बताउनुभएको छ ।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बिहीबार बसेको नौवटै दलका नेताको संयुक्त बैठकले त्यस्तो निर्णय गरेको हो । गोरखापत्र दैनिकले समाचार छापेको छ ।
बृहत् प्रदर्शनको तयारीका लागि नौवटै दलको तर्फबाट आआफ्नो जिम्मेवारी अनुसारको तयारी गर्ने निर्णय पनि बैठकमा भएको एमाले संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङले बताउनुभयो ।
प्रदर्शनको तयारी र त्यसबारेमा जानकारी दिन आगामी १० गते आइतबार पत्रकार सम्मेलन गर्ने निर्णय भएको नेम्वाङले जानकारी गराउनुभयो ।
उहाँका अनुसार २२ गते काठमाडौँको भृकुटीमण्डप स्थित पर्यटन बोर्डदेखि पद्मोदय विद्यालयसम्मको सडकखण्डमा प्रदर्शन गर्ने तयारी भएको छ । यसअघि खुलामञ्चमा गर्ने भनिएको खुलामञ्च खाली नरहेकाले भृकुटीमण्डपमा कार्यक्रम गर्ने निर्णय भएको उपनेता नेम्वाङले बताउनुभयोध्र
प्रदर्शनलाई भव्य बनाउन एमालेले आफ्नो दलको तर्फबाट सबै तयारीको सुरुआत गरेकोे बताएको छ । सोक्रममा बिहीबार पार्टीका महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा भेला तयारी तथा समन्वयका लागि कार्यदल गठन गरिएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताउनुभयो ।



