९ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीसहित ७ वटा हिन्दूवादी संगठनले भोलि (आइतबार) सुदूरपश्चिम बन्दको आह्वान गरेका छन् ।
कैलालीस्थित हिन्दू धर्मावलम्बीहरुको पवित्र तिर्थस्थल गोदावरीमा पुस ५ गते नेपालको राष्ट्रिय जनावर गाईतथा हिन्दूहरुको आस्थाको प्रतिक गौमाताको नियोजित रुपमा निर्ममतापूर्वक हत्या गरिएको विरोधमा आइतबार सुदूरपश्चिम बन्दको घोषणा गरिएको हो ।
शनिबार राष्ट्रिय मठमन्दिर समन्वय महासमिति (कैलाली), गौ संरक्षण समिति, हिन्दू जागरण युवा संघ नेपाल (कञ्चनपुर), हिन्दू राष्ट्र संरक्षण संघर्ष समिति (कैलाली), हिन्दू जागरण युवा संघ (कैलाली), हिन्दू राष्ट्र पुनर्स्थापना मञ्च (कञ्चनपुर)ले संयुक्त र राप्रपा कैलालीले आफ्नो पार्टीको विज्ञप्ति जारी गर्दै गाई हत्याको छानविनमा प्रशासनबाट कुनै पहल नभएको भन्दै दबाबका लागि बन्द गर्नुपरेको जनाएका छन् ।
विज्ञप्तिमा आइतबार सम्पूर्ण यातायात, कलकारखाना तथा व्यवसाय बन्द गरी हिन्दू धर्ममाथिको प्रहार राष्ट्रिय जनावर गाईमाथिको अत्याचारको विरुद्धमा सहमति जनाई सहयोग गर्न अनुरोध समेत गरिएको छ ।
गत पुस पाँच गते कैलालीको गोदावरीमा दर्जनौं गाई एकै ठाउँमा मृत अवस्थामा फेला परेका थिए ।
दैनिक नेपाल बाट सभार गरिएको




