काठमाडौं, १० पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षी दललाई रोक्ने प्रयास नगर्न चेतावनी दिएका छन् ।
आइतबार एमाले संसदीय दलको कार्यालयमा विपक्षी ९ दलको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ओलीले प्रतिपक्षीसँग सम्वाद गर्नुभन्दा प्रधानमन्त्रीले धम्कीको भाषा प्रयोग गरिरहेको आरोप लगाए ।
‘प्रधानमन्त्रीले प्रतिपक्षीसँग सम्वाद गर्नुभन्दा धम्काइरहनुभएको छ,’ ओलीले भने– ‘प्रधानमन्त्रीले दम्भ देखाउनुभएको छ यसले हित गर्दैन् ।’
ओलीले प्रतिपक्षी दललाई सत्ता पक्षले रोक्छु भनेर प्रचार गर्दै हिडिरहेको भन्दै त्यसबाट उत्पन्न हुने परिस्थितीको ख्याल गर्न सचेत गराए ।
‘नेकपा एमाले र प्रतिपक्षी दलहरुलाई सत्ता पक्षहरुले जनतामाँझ जान दिन्न भनिरहेका छन्,’ ओलीले कडा शब्दमा भने- ‘म सचेत गराउन चाहन्छु जनतामा जाने विषयमा प्रतिपक्षीलाई रोक्ने प्रयास नगरियोस । यदी त्यसो भयो भने त्यसबाट उत्पन्न हुने परिस्थितीको सत्ता पक्ष जिम्मेवार हुनुपर्नेछ ।’
ओलीले संविधान संशोधन हुनै नसक्ने आफूहरुले नभनेको भन्दै संशोधन हुन औचित्य पुष्टि हुनुपर्ने र अहिले संशोधनको आवश्यकता नरहेको बताए । ‘राष्ट्रियता, अखण्डता, सार्वभौमिकता र देशलाई दिर्घकालिनमा गर्ने विषयमा संसदमा छलफल हुनै सक्दैन् । प्रवेशै पाउँदैन्,’ उनले भने- ‘संशोधन प्रस्ताव फिर्ता नहुँदासम्म पास हुन्न् छलफल पनि हुन्न् ।’
तानाशाही व्यवस्थामा जस्तै प्रधानमन्त्रीले भ्रम र उत्तेजना फैलाउने अभिव्यक्ति दिएर प्रतिपक्षीलाई होच्याउने कार्य गरेको ओलीको आरोप छ ।
‘प्रधानमन्त्रीको यस्ता आरोप वितण्डा मच्चाउने आरोप हुन् । पाँच नम्बर प्रदेशबाट तराई पहाड छुट्याउन हुँदैन् भनेर भन्दा युवा नेता दुर्गा तिवारीलाई गोली हानियो,’ उनले भने-‘घटनालाई मोड्न एकतर्फी कहानी बनाएर प्रचार प्रसार भयो ।’
निकै आक्रामक रुपमा प्रस्तुत भएका ओलीले प्रधानमन्त्रीलाई उत्तेजना अहंकारमा आएर प्रतिपक्षलाई गाली नगर्न चेतावनी दिए ।
‘संसदमा जे पनि छलफल गर्न पाइन्छ भन्ने कुराको विपक्षमा छौं । संशोधन प्रस्तावलाई अदालतले र संविधानले रोकेको विषयलाई मध्यरातमा ल्याएर दर्ता गरियो । त्यो गनुपर्ने के कारण थियो । यो राष्ट्रहित विपरित र राष्ट्रघाति छ,’ ओलीले भने ।
ओलीले संविधान कार्यान्वयनका लागि तिनवटै तहको निर्वाचन मिति घोषणा गर्न सरकारसँग माग गरे ।



