काठमाडौं, २ असोज । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा गम्भीर राष्ट्रघात भएको आरोप लगाएका छन् ।

वैद्यले आइतबार प्रेस विज्ञप्ति जारी गरी प्रचण्डले भारतसँग राष्ट्रघाती सम्झौता गरेको आरोप लगाएका हुन् ।

‘भारतसित गरिएका सन् १९५० लगायतका सबै असमान सन्धि सम्झौता तथा सहमति खारेज गर्ने कुरा हुँदै आएकोमा नेपालका प्रधानमन्त्रीद्वारा पुराना ती सबै सन्धि सम्झौता तथा सहमतिहरुलाई निरन्तरता दिने कुरा स्वीकार गरिएको छ’, वैद्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो एकातिर गम्भीर राष्ट्रघात हो भने अर्कोतिर भविष्यमा अझ राष्ट्रघाती सन्धि सम्झौता गर्नका लागि पृष्ठभूमि तयार पारिएको कुरा स्पष्ट हुन्छ ।’

क्रान्तिकारी माओवादी अध्यक्ष वैदले भारतसित गरिएका सन् १९५० लगायत ऊर्जा व्यापार सम्झौता, माथिल्लो कर्णाली जलविद्युत परियोजना लगायतका सन्धि सम्झौतालाई असमान र राष्ट्रघाती भन्दै खारेजीको माग गरेका छन् ।

प्रचण्डको भारत भ्रमणमा दुई देशको संयुक्त वक्तब्यमा विवादास्पद पञ्चेश्वर जलविद्युत आयोजनालाई बिउँझाउनुका साथै बिप्पाप्रति सहमति जनाइएको भन्दै वैद्यले आपत्ति जनाएका छन् ।

यस्तै, माथिल्लो कर्णाली, अरुण–३ सहितका ऊर्जाव्यापार सम्झौता, ऊर्जा विकास सम्झौता आदिलाई निरन्तरता दिंदै व्यापार, पारवहनसहित आर्थिक, राजनीतिक, सामरिक, सांस्कृतिक लगायत विविध पक्षमा भारतीयद्वारा गरिएका हस्तक्षेपलाई नवीनीकरण गरिएको वैद्यको आरोप छ ।

संविधान निर्माणलाई आन्तरिक मामिला बताउँदै आएका नेपालका प्रधानमन्त्री सो संविधान संशोधन लगायतका विषयमा भारतीय प्रधानमन्त्रीको आशीर्वाद थाप्न भारतमा गएको र त्यो पनि सफल बन्न नसकेको कुरा सो संयुक्त वक्तव्यबाटै स्पष्ट भएको बैद्यले आरोप लगाएका छन् ।

विज्ञप्तिको पूर्ण पाठ

भाद्र ३० देखि आश्विन २ गतेसम्म नेपालका प्रधानमन्त्रीको भारत भ्रमण भएको छ । नेपाल र भारतका प्रधानमन्त्री मार्फत् एउटा संयुक्त वक्तव्य पनि जारी गरिएको छ । नेपालका प्रधानमन्त्रीका तर्फबाट यो भ्रमण भारतसितको सम्बन्धलाई नयाँ आधारमा अगाडि बढाउन र विश्वासको वातावरण बनाउन पूर्ण सफल भएको अभिव्यक्ति पनि दिइएको छ । परन्तु, सो वक्तव्य नेपाल र नेपाली जनताको हित विपरीत रहेको देखिन्छ ।
भारतसित गरिएका सन् १९५० लगायतका सबै असमान सन्धि सम्झौता तथा सहमति खारेज गर्ने कुरा हुँदै आएकोमा नेपालका प्रधानमन्त्रीद्वारा पुराना ती सबै सन्धि सम्झौता तथा सहमतिहरुलाई निरन्तरता दिने कुरा स्वीकार गरिएको छ । यो एकातिर गम्भीर राष्ट्रघात हो भने अर्कोतिर भविष्यमा अझ राष्ट्रघाती सन्धि सम्झौता गर्नका लागि पृष्ठभूमि तयार पारिएको कुरा स्पष्ट हुन्छ ।
यस संयुक्त वक्तव्यमा विवादास्पद पञ्चेश्वर जलविद्युत आयोजनालाई बिउँझाइएको छ । बिप्पाप्रति सहमति जनाइएको छ । माथिल्लो कर्णाली, अरुण–३ सहितका ऊर्जाव्यापार सम्झौता, ऊर्जा विकास सम्झौता आदिलाई निरन्तरता दिंदै व्यापार, पारवहनसहित आर्थिक, राजनीतिक, सामरिक, सांस्कृतिक लगायत विविध पक्षमा भारतीय विस्तारवादद्वारा गरिएका हस्तक्षेपलाई नवीनीकरण गरिएको कुरा स्पष्ट देखिन्छ । सो सम्झौतामा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को उम्मेदवारीमा भारतलाई सघाउने वचन दिइनु असंलग्न परराष्ट्र नीति विपरीत हुन गएको छ । साथै संविधान निर्माणलाई आन्तरिक मामिला बताउँदै आएका नेपालका प्रधानमन्त्री सो संविधान संशोधन लगायतका विषयमा भारतीय प्रधानमन्त्रीको आशीर्वाद थाप्न भारतमा गएको र त्यो पनि सफल बन्न नसकेको कुरा सो संयुक्त वक्तव्यद्वारा जाहेर हुन गएको छ ।
तसर्थ, हाम्रो पार्टी भारतसित गरिएका सन् १९५० लगायत ऊर्जा व्यापार सम्झौता, माथिल्लो कर्णाली जलविद्युत परियोजना लगायतका असमान तथा राष्ट्रघाती सन्धि सम्झौता एवम् सहमतिहरुको खारेजीसहित नयाँ आधारमा नयाँ सम्झौता सहमति गर्नका लागि विशेष जोड दिन्छ । साथै, हाम्रो पार्टी नेपालका प्राकृतिक तथा मानवीय स्रोत साधनहरुको नेपाली जनताकै हितमा उपयोग गर्न र बाह्य हस्तक्षेप तथा राष्ट्रघातका विरुद्ध राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई नयाँ ढंगले संगठित तुल्याउन पुनः प्रतिबद्धता जाहेर गर्दछ ।

…. …. …. ….
मोहन वैद्य ‘किरण’
अध्यक्ष

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय