काठमाडौँ, ११ पुस । मुलुकका सबै स्थानमा आयोनुन डिलरको मागअनुरुप वितरण भइरहेको छ ।
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले आज गरेको अनुगमनका क्रममा साल्ट टे«डिङ कर्पोरेसन लिमिटेडसँग देशभरिमा ९० हजार मेट्रिक टन नुन मौज्दात रहेको र त्यसले आठ महिना थेग्न सक्ने समेत देखिएको अनुगमन अधिकृत ढुन्डीराज पोखरेलले जानकारी दिनुभयो ।
विभागले आज नै काठमाडौँका विभिन्न पसलमा गरेको अनुगमनका क्रममा केही पेय पदार्थ र खाद्य सामग्री नष्ट गरिएको छ । सोक्रममा जास्मेस टे«डर्स घट्टेकुलोबाट म्याद सकिएको ६०० ग्रामको आठ बट्टा ग्लुकोभिटा नष्ट गरी सात दिनभित्र विभागमा आउन निर्देशन दिएको छ ।
त्यसैगरी आरजु कोल्ड स्टोर घट्टेककुलोबाट म्याद सकिएको ६० ग्रामको पाँच पोका ब्रिटानिया केक नष्ट गरिएको छ । नापतौल यन्त्र अद्यावधिक नभएको, खाद्य र अखाद्य वस्तुसँगै राखिएको र म्याद नाघेका सामान बिक्रीवितरण गरिएको पाइएपछि सुपथ मूल्य पसल र ॐ नमो शिवाय घट्टेकुलो तथा प्रयास स्टोर, मनकामना स्टोर र एसएस ट्रेडर्स कालीमाटीलाई सात दिनभित्र विभागमा आउन निर्देशन दिइएको छ ।



