काठमाडौं, १७ असार – विश्वकप फूटबल प्रतियोगिताअन्तर्गतअहिले केहिबेरमा (पौने ८ बजे) आयोजक रुसले स्पेनको सामना गर्दैछ ।
स्पेन समूह बीको विजेता तथा रुस समूह एको उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेका हुन् ।
समूह चरणका शुरुवाती २ खेलमा निकै प्रभावशाली जीत दर्ता गरेको रुस अन्तिम खेलमा उरुग्वेसँग ३-० पराजित हुँदा समूह उपविजेतामा खुम्चिन पुग्यो । दुई खेलमा ८ गोल प्रहार गरेको टोली तेस्रोमा गोलविहीन रह्यो ।
अर्कोतर्फ स्पेन २ बराबरी र एक जीतसहित समूह विजेता बनेको हो । उसले पोर्चुगलसँग ३-३ र मोरक्कोसँग २-२ गोलको बराबरी खेल्दा इरानलाई १-० ले पराजित गरेको थियो ।
स्पेन पछिल्लो २३ खेलमा अपराजित छ । २०१४ विश्वकपमा खराब प्रदर्शन गरे पनि त्यसबाट गतिलो पाठ सिक्दै लयमा फर्किएको स्पेनलाई प्रतियोगिता शुरु हुनुभन्दा अघि उपाधिको प्रमुख दाबेदारमध्ये एक मानिएको थियो ।
यद्यपि जारी प्रतियोगितामा स्पेनको प्रदर्शन अपेक्षित भने छैन । विश्वकपको पूर्वसन्ध्यामा प्रशिक्षक जुलेन लोपेटेगुइ बर्खास्त भएपछि अन्तिम समयमा टीम सम्हालेका फर्नान्डो हिएरोले टीमलाई अपेक्षित लयमा अघि बढाउन सकेका छैनन् ।
अर्कोतर्फ विश्वकप शुरु हुनुअघि निरन्तर खराब प्रदर्शन गरेको रुसले शुरुवाती २ खेलमा अनपेक्षित प्रदर्शन गर्यो । फूटबलमा घरेलु समर्थकलाई बाह्रौं खेलाडी मानिन्छ । घरेलु क्राउड खेलाडीलाई मनोवैज्ञानिक रूपमा बलियो बनाउन निकै महत्त्वपूर्ण हुन्छ ।
तर स्पेन समग्रमा बलियो टोली हो । अग्र र मध्यपंक्तिमा मात्र होइन डिफेन्समा पनि स्पेन प्रभावशाली मानिन्छ । यद्यपि दुई खेलमा क्लिनचिट प्राप्त गर्न नसक्नु स्पेनका लागि चिन्ताको विषय बन्न सक्छ ।
हेर्नलायक खेलाडी
डिएगो कोस्टा, स्पेन
इंग्लिस क्लब चेल्सीबाट गत सिजन एथ्लेटिको मड्रिड फर्किएका कोस्टा निकै उत्कृष्ट लयमा छन् । शुरुवाती खेलमा पोर्चुगलविरुद्ध २ गोल गरेका कोस्टा इरानविरुद्ध पनि विजयी गोल गर्न सफल भए ।
इस्को, इनिएस्टा, बुस्केट, कोकेजस्ता नाम चलेका मिडफिल्डरहरूको साथमा कोस्टा स्पेनको अग्रपंक्तिमा निकै प्रभावकारी देखिएका छन् । उत्कृष्ट मिडफिल्डरहरूले निकाल्नै सटीक पासलाई गोलको दिशा दिँदै कोस्टाले स्पेनको जीतमा महत्त्वपूर्ण भूमिका निभाउन सक्छन् ।
डेनिस चेरिसेभ, रुस
विंगरको भूमिकामा खेल्ने डेनिस चेरिसेभ रुसका लागि महत्त्वपूर्ण भूमिका खेल्नसक्ने खेलाडी हुन् । पहिलो खेलमा साउदी अरेबियाविरुद्ध २ गोल गरेका चेरिसेभले इजिप्टविरुद्ध १ गोल गरे । स्पेनिस क्लब भिल्लारियलबाट खेल्ने चेरिसेभ टीमका अनुभवी खेलाडी पनि हुन् ।



