एजेन्सी । अमेरिकाको टेक्सासमा एक बालिकाले ३ महिनामा दुई पटक जन्म लिइन् । खासमा यी बालिकालाई ट्यूमर थियो । शरीरबाट ट्यूमर निकाल्नका लागि २२औं हफ्तामा चिकित्सकहरुले गर्भबाट निकालेर उपचार गरेका थिए ।
उपचारपछि ति बच्चीलाई फेरि गर्भमा राखियो । अन्तत: ३६औं हप्तामा ति बालिकामा धर्तिमा पाइला टेकिन् । यसलाई बालिकाको दोस्रो जन्मका रुपमा लिइएको छ । जन्मिन नपाउँदै यी बालिका विश्वभर चर्चित बनेकी छन् ।
अमेरिकाको टेक्सास निवासी मारग्रेट बूमर आफ्नो गर्भ रहेको १६औं हप्ता अल्ट्रासाउण्ड चेकिङका लागि अस्पताल पुगेकी थिइन् । त्यसक्रममा गर्भमा रहेको शिशुमा सेक्रोकेक्सिजियल टेराटोमा नाम ट्यूमर रहेको पत्ता लाग्यो ।
२२औं हप्तामा पुन: परीक्षण गर्दा ति शिशुको अवस्था गर्भमै निकै जटिल बनिसकेको थियो । ट्यूमरले लगातार शिशुको हार्टमा प्रेसर दिँदै थियो, जसका कारण हार्ट फेल हुने खतार बढ्न गयो ।
यसैक्रममा चिकित्सकहरुले शल्यक्रिया गरे । बच्चीलाई गर्भबाट ननिकाली ट्यूमर निकाल्न सम्भव भएन । त्यसपछि बाहिरै निकालेर शल्यक्रिया गरियो । ट्यूमर निकालेर फालेपछि चिकित्सकहरुले उनलाई पुन: आमाको पाठेघरमा राखिदिए ।
त्यसपछि उनी १२ हप्तासम्म आमाको गर्भासयमै रहिन । अन्तत: ३६औं हप्ता चिकित्सकले शल्यक्रिया नै गरेर उनलाई जन्म दिए । ति बालिका पूर्ण स्वस्थ रहेको चिकित्सकहरुले जनाएका छन् ।



