उत्तम रिजाल,२४ असोज,झापा÷ झापाको शिवसताक्षी नगरपालिका १ धरमपुरमा आजबाट शुरु भएको दोश्रो फुलबारी च्यालेन्ज कप फुट्बल प्रतियोगितामा उर्लाबारी फुट्बल क्लब मोरङ्ग विजयी भएको छ ।
उसले धुलाबारी फुट्बल क्लब झापालाई एक शुन्यले पराजित गर्दैै जित हासिल गरेको हो । विजयी टिमका लागि जर्सी नम्बर ११ का रोमन दनुवारले गोल गरे । पहिलो हाफ सम्म गोल रहित बराबरी खेलेको उर्लाबारीका लागि दोश्रो हाफको २५ औं मिनेटमा रोमनले गोल गरेका थिए ।
उनले जर्सी नम्बर ७ का अरुण लिम्बुले डिबक्स भित्र दिएको पासमा बललाई जाली चुमाएका थिए । खेलको शुरुवात देखी नै उत्कृष्ट प्रदर्शन गरेका दुबै टिमले गोल गर्ने आधा दर्जन बढी अबसर खेर फालेका थिए । खेलको म्यान अफ दि म्याच विजयी टिमका जर्सी नम्बर ७ का अरुण लिम्बु भए ।
उनले नगद २ हजारसँगै ट्रफी हात पारे । उनलाइ सो पुरस्कार शिवसताक्षी नगरपालिकाका मेयर चन्द्र कुमार शेर्माले प्रदान गरेका थिए । यसअघि रेफ्री लक्ष्मण जसवाललाइ बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका मेयरले कार्यक्रमा सम्बोधन आगामी बजेटमा नगरको खेलकुद विकासका लागि ५० लाख रुपैया छुट्याउने घोषणा गरे ।
प्रतियोगितामा भोलि जिओन स्पोर्टिङ्ग क्लब विर्तामोड र आयोजक फुलबारी सेवा संगम क्लब प्रतिस्पर्धा गर्नेछन् ।प्रतियोगिताको विजेताले नगद एक लाख र उप–विजेताले नगद ५० हजार र ट्रफी हात पार्नेछन् ।



