काठमाडौं, ६ असोज । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा कामिनी राजभण्डारी नियुक्त भएकी छन् । सिफारिस गरिएका तीन मध्येबाट राजभण्डारीलाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद्को बिहीबारको बैठकले गरेको हो ।
सञ्चार सचिव दिनेश थपलियाको संयोजकत्वमा गठित छनौट समिति राजभण्डारीसहित सुनिल पोखरेल र मदन खरेलको नाम सिफारिस गरेको थियो ।
टेलिकमको प्रबन्ध निर्देशकका लागि १३ जनाले आवेदन दिएका थिए । यी मध्ये १२ जनालाई पछि पार्दै राजभण्डारी चुनिएकी हुन् । साथै बैठकले हुलाकका कर्मचारीहरुको तलब बढाउने निर्णय पनि गरेको छ । यसअघि बजेट भाषणमा सबै कर्मचारीको तलब बढेपनि हुलाकका कर्मचारीको तलब बढेको थिएन । उनीहरुले अब निजामति कर्मचारीहरुकै अनुपातमा बढेको तलब पाउने छन् ।
यसका साथै बैठकले मधेस आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचारका लागि १ करोड ४० लाख निकासा गर्ने तथा अल्ट्रा धाविका मिरा राईलाई ५ लाख दिने निर्णय पनि गरेको छ । साथै दुई वर्षभित्र हलिया मुक्त गर्ने घोषणा पनि आजको बैठकले गरेको छ ।



