वीरगन्ज, ७ असोज । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी डाक्टरी पढेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेर ठगी मुद्दा चलाइएका वीरगन्जका आठजना चिकित्सकलाई पर्सा जिल्ला अदालतले सफाइ दिएको छ ।
पर्सा जिल्ला अदालताका न्यायाधीश महम्मद जुनेद आजादको इजलासले वादीको माग दाबी नठहर्ने भन्दै आठैजना चिकित्सकलाई बुधबार सफाइ दिएको अदालतका स्रेस्तेदार ठाकुरप्रसाद खरेलले जानकारी दिएको आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
‘ठगिने व्यक्ति को हो ? भन्ने नखुलेको, किर्ते पुष्टि गर्ने आधार पनि नभएको र ठगीको परिभाषाभित्र पनि नपरेको ठहर अदालतले गरेको छ,’ स्रेस्तेदार खरेलले भने,‘ ठगी गरेको प्रमाण फेल नपारेपछि अदालतले सफाइ दिएको हो ।’
उनले अदालतको फैसनापछि आठैजना चिकित्सकले बुधबार नै धरौटीबापत आफूले जम्मा गरेको रकम बुझेर लगेको बताए ।



