विपक्षी काँग्रेसको अवरोधबीच प्रतिनिधिसभाबाट चिकित्सा शिक्षा विधेयक पारित भएपछि विक्षिप्त बनेका डा. गोविन्द केसीले प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमाथि आपत्तिजनक तरिकाले प्रश्न उठाएका छन् ।
केसीले यसअघि पनि प्रधानमन्त्रीको स्वास्थ्यमा प्रश्न उठाउने गरेका थिए । शुक्रबार साँझ त्रिवि शिक्षण अस्पतचाल महाराजगञ्जमा पत्रकार सम्मेलन गरी केसीले आफ्ना मागहरुको उपेक्षा गरेर सरकारले जबर्जस्ती विधेयक पारित गरेको भन्दै अनसन जारी राख्ने जनाए । उनले आफ्नै अनसनका कारण चिकित्सा शिक्षा विधेयक आएकामा गर्व गरे पनि त्यसको स्वामित्व भने लिएनन् । उनले प्रधानमन्त्रीले आफूसँग गरेको सम्झौताविपरीत विधेयक पारित गराएकाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।
प्रधानमन्त्रीको निर्णय क्षमता उहाँको स्वास्थ्य अवस्था तथा उहाँले लिइरहेको औषधिका कारण प्रभावित भएको र त्यसको मूल्य राष्ट्रले चुकाइरहनु दुर्भाग्यपूर्ण कुरा हो । सत्तापक्षले नेपाली जनताको भावनाविपरीत जालझेल र षड्यन्त्र गरेको उनको आरोप थियो । केसीले सरकार तीन करोड नागरिकको गुणस्तरीय र सर्वसुलभ सेवा पाउने अधिकारलाई भन्दा बढी महत्व पार्टीसँग साँठगाँठ भएका अमुक मेडिकल कलेजको स्वार्थमा लागेको पुष्टि भएको आरोप लगाएका छन् । केसीले शुक्रबार चिकित्सा शिक्षा विधेयकको विरोधमा राजधानीमा प्रदर्शन गरिरहेका आफ्ना समर्थकलाई पक्राउ गरेकामा निन्दा गर्दै उनीहरुको रिहाइको मागसमेत गरेका छन् ।



