जिल्ला प्रहरी कार्यालय बाराले शनिबार राति भएको सरकारी जिप दुर्घटनाको विस्तृत अनुसन्धान थालेको छ। प्रहरीले एक जनाको मृत्यु र एक जना गम्भीर घाइते भएको दुर्घटनामा चालक र दुई अंगरक्षक सकुशल भेटिएपछि विभिन्न कोणबाट अनुसन्धान थालेको हो।
बाराका डिएसपी रञ्जितसिंह राठौरले चालक जगतप्रसाद राउतलाई निगरानीमा राखेर अनुसन्धान सुरु भएको बताए। उनका अनुसार दुर्घटना लगत्तै अस्पतालमा चालकले मादक पदार्थ सेवन गरे नगरेको चेकजाँच गरेको थियो। बारा प्रहरीका अनुसार ब्रेथलाईजरबाट गरिएको जाँचमा चालक जगतप्रसाद राउतले मापसे नगरेको देखिएको हो।
सडक दुर्घटनामा सशस्त्रका एसपी बलराम पोखरेलको निधन भएको छ। दुर्घटनामा बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईको अवस्था गम्भीर छ। सोही जीपमा रहेका चालक राउत, प्रहरी हवल्दार शम्भु गुरुङ र सशस्त्र प्रहरी हवल्दार संजय यादवलाई सामान्य चोटपटक लागेको राठौरले बताए।
उनका अनुसार एसपी अगाडि चालकसँगैको सिटमा र प्रजिअ अधिकारी एसपीको पछाडिको सिटमा बसेको र हवल्दार यादव र गुरुङ चालकको पछाडिको सिटमा बसेका थिए। उनले घटना शंकास्पद भएको भन्दै अनुसन्धान अगाडि बढाएको बताए।
‘हामीले दुर्घटनाका विषयमा अनुसन्धान थालेका छौं,’ डिएसपी राठौरले भने ‘विभिन्न कोणबाट अनुसन्धान हुन्छ।’
बारा जितपुर सिमरा उपमहानगरपालिका–१६ स्थित पूर्वपश्चिम राजमार्गको पासाहा पुल नजिकै सर्लाहीबाट बारातर्फ आउँदै गरेको बा १ झ १६३३ नम्बरको जिप सोही स्थानमा रोकी राखेको हाल नम्बर नखुलेको ट्याक्टरको ट्रेलरमा ठक्कर खाई दुर्घटना भएको थियो।
जिपमा सवार सशस्त्र प्रहरी बल नेपाल हेकुवा १२ नम्बर गण श्रीपुर बारामा कार्यरत कार्यालय प्रमुख काठमाडौं बनस्थली बस्ने सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा घाइते बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईको काठमाडौंमा उपचार सुरु भएको छ।
प्रहरी हवल्दार शम्भु गुरुङ र चालक जगतप्रसाद राउतको वीरगंज हेल्थ केयरमा र सशस्त्र प्रहरी हवल्दार सञ्जय यादवको अल्पाइन अस्पताल सिमरामा उपचार भइरहेको छ।नेपालखबर



