इनरुवा- सुनसरीको कोशी गाउँपालिकामा सम्पन्न भैँसी सुन्दरी प्रतियोगिताका विजेतालाई भैँसी नै उपहार प्रदान गरिएको छ।
कोशी कटानमा सम्पन्न उक्त प्रतियोगितामा ९० भैँसीबीच प्रतिस्पर्धा गराइएको थियो। उत्कृष्ट ठहरिएका भैँसीधनी विन्देश्वर इशरलाई सोमबार प्रथम पुरस्कारवापत लैनो भैँसी प्रदान गरिएको छ।
कोशी गाउँपालिकाले आयोजना गरेको भैँसी सुन्दरी प्रतियोगिताका विजेतालाई इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले लैनो भैँसी पुरस्कार दिएका हुन्। उनले नगरपािलकाकाे मेयरका लागि उम्मेदवारी दिँदै गर्दा आफ्नाे घाेषणापत्रमै सुन्दरी प्रतियाेगीताका विजेतालाई भैंसी नै पुरस्कार दिने उल्लेख गरेका थिए।
सुनसरी कृषिका लागि पकड क्षेत्र भएकाेले यस खालका प्रतियाेगिताले किसानलाई प्राेत्साहन मिल्ने भन्दै साे कार्य गरेकाे मेहताले बताए। घाेषणापत्रमा मेहताले गाई र बाख्रा सम्मेलन पनि आफ्नाे मुख्य एजेन्डा रहेकाे उल्लेख गरेका थिए।
उनले व्यक्तिगत एक लाख ५० हजार रुपैयाँमा लैनो भैँसी खरिद गरी पुरस्कार दिएका हुन्।
प्रदेश १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालासहित इनरुवा नगरपालिकाका प्रमुख मेहता र कोशी गाउँपालिका अध्यक्ष ऐयुव अन्सारीले संयुक्त रूपमा पुरस्कार वितरण गरेका थिए।
सुनसरीमा भैँसी सुन्दरी प्रतियोगिताको अवधारणा पहिलो पटक इनरुवा नगरपालिकाले ल्याएको हो । कोशी गाउँपालिकासँग भगिनी सम्बन्ध गाँसेसँगै इनरुवा नगर प्रमुखले कोशी गाउँपालिकामा आयोजित भैँसी सुन्दरी प्रतियोगिताका विजेतालाई भैँसी हस्तान्तरण गरेका हुन्। कार्यक्रममा भैँसी सुन्दरीसहित गाई सुन्दरी प्रतियोगितामा उत्कृष्ट ठहरिएका गाईधनीलाई पनि नगदसहित सम्मान गरिएको थियो।
यस्तै साेमबार नै विपी कोइराला स्मृति राष्ट्रिय कुस्ती प्रतियोगितासमेत सम्पन्न भएको छ। प्रतियोगितामा विभिन्न ताैल समूहमा पुरुषतर्फ भागवत शाह, वृजेश यादव, सञ्जय तिवारी, श्रवणकुमार ठठेर, रामचन्द्र यादव, रमेश चन्द र समिरकुमार साह पहिलो भए। महिलातर्फ मनिषा सिंह, सङ्गीता धामी, सुशीला चन्द, लक्ष्मी खत्री र शान्ती चौधरी प्रथम भए ।
प्रतियाेगितामा नेपाल प्रहरी, नेपाली सेना, गण्डकी प्रदेशबाहेकका ६ प्रदेश र आयोजक कोशी गाउँपालिकाको सहभागिता रहेको थियो। सृष्टि समाज इनरुवाले सो प्रतियोगिता आयोजना गरेको हो।नेपाललाइभ



