दमक/झापाको दमकमा प्रदेश भरीका बालबालिकालाई लक्षित गरी शुरु गरिएको बृहत बालमहोत्सवमा विधार्थी तथा अभिभावकको उत्साहजनक सहभागिता रहेको छ । दमक वडा नं. ९ सरस्वती माविमा हिजो देखि शुरु भएको महोत्वसमा दुई दिनमा १६ हजार हाराहारीमा विधार्थी तथा अभिभावकहरुको सहभागिता भईसकेको दमक नगरपालिका सामाजिक शाखाका प्रमुख डम्बर बरालले बताउनु भयो ।
बालमैत्री स्थानीय शासनका लागि बाल सहभागिताको सुनिश्चित गर्दै बाल सरोकारका विषयलाई साझा बनाउने उद्देश्यले शुरु गरिएको महोत्सवमा हाजिरी जवाफ, विज्ञान प्रदर्शनी, चित्रकला, गीत, नृत्य, निवन्ध, कविता लगायतका १० वटा विधामा प्रतियोगिता समेत भईरहेको प्रतियोगिताका उपसमितिका संयोजक टेकबादुर भण्डारीले बताउनु भयो ।
दोस्रो दिन शुक्रबार भएको कार्यक्रमका प्रमुख अतिथि उच्च शिक्षालय तथा माध्यमिक विधालय संघ झापाका अध्यक्ष शुरेस बहादुर पौडेलले महोत्सवको प्रशंसा गर्नु भयो । पौडेलले संघीय संरचनामा देश प्रवेश गरे पछि पहिलो पटक गरिएको कार्याक्रमले बालबालिकाको क्षमता र ज्ञान अभिबृद्धिमा ठूलो सहयोग पुग्ने भन्दै आयोजक दमक नगरपालिकालाई धन्यवाद समेत प्रकट गर्नु भयो । आज चित्रकला, हाजिरी जवाफ, गीत गायन, विज्ञान प्रदर्शनमा समेत उल्लेख्य विधार्थीले भाग लिएका छन् ।
आज प्रखरबक्ता रमेश प्रसाईं, गिनिजबुकमा रेकर्ड राख्न सफल थानेश्वर राई र १ सय ५० भन्दा बढी चराको आवाज निकाल्न सक्ने प्रतिवान युवा रमेश दुलालको उपस्थिति हुने आयोजकले जानकारी दिएको छ ।



