भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको प्रसंशा गरेका छन्।
पश्चिम बंगालको मैनागढी आइपुगेका भारतीय प्रम मोदीले यहाँ आयोजित कार्यक्रममा आदिकवि भानुभक्तको प्रसंशा गरेका हुन्।
आगामी बैशाख–जेठमा हुने भारतीय लोकसभाको चुनावमा भाजपाका लागि पश्चिम बंगाल चुनौतिको क्षेत्र मानिएको छ। किनभने त्यहाँ सत्तारुढ त्रिणमूल कांग्रेस लगायत केन्द्रमा विपक्षमा रहेका सबै दल भाजपाविरुद्ध एकजुट भएका छन्।
अघिल्लो महिना त्यहाँकी मुख्यमन्त्री ममत बेनर्जीको नेतृत्वमा भाजपा विरोधी मोर्चामा रहेका सबै दलको संयुक्त जुलुश र सभा आयोजना गरिएको थियो।
त्यही कारण भाजपा पश्चिम बंगालको चुनावी परिणामसँग डराएको छ र औपचारिक चुनावी कार्यक्रम सुरु नहुँदै प्रम मोदी अनौपचारिक चुनावी प्रचारको सिलसिलामा पश्चिम बंगाल आइपुगेका छन्।
‘जलपाइगढ़ी क्षेत्र नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको पनि कर्मभूमि हो’ यहाँ जारी कार्यक्रममा मोदीले भने, ‘भानुभक्तले बाल्मिकीको रामायणलाई नेपालीमा अनुवाद गरेका थिए।’
जलपाइगुडी प्रस्तावित ‘गोर्खाल्याण्ड राज्य’ भित्रै पर्छ। त्यसैले, गोर्खा समुदायको मन जित्न प्रधानमन्त्री मोदीले नेपाली भाषाका आदिकवि भानुभक्तको प्रसंशा गरेका हुन्।
भानुभक्तको प्रसङ्ग उप्काउनु अघि उनले जनजातिका लागि महत्त्वपूर्ण कार्य गर्ने ठाकुर पञ्चानन धर्माको पनि प्रसङ्ग कोट्याएका थिए।
मोदीले यी विभूतिहरूप्रति नमन अर्पण गरी आफ्नो सम्बोधन शुरु गरेका थिए।



