झापा । झापामा १० मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादन हुने भएको छ। झापा जिल्ला क्षेत्र नं. ४ का सांसद एवं नेपाल कम्युनष्टि पार्टी नेकपाका नेता एलपी साँवा लिम्बूको नेतृत्वमा १० मेगावाट क्षमताको सोलार पावर उत्पादन गर्न लागिएको हो। ‘सुखी नेपाली, समृद्ध नेपाल’ अभियानअन्तर्गत झापा इनर्जी लिमिटेड कम्पनी स्थापना गरेर सोलार पावर उत्पादन अभियान सुरु गरिएको सांसद साँवाले बताए।
उनका अनुसार गत २०७५ असोज १६ गते भापा इनर्जी कम्पनी लिमिटेड स्थापना गरेर काम अघि बढाइएको छ। आयोजना सञ्चालनको लागि साँवाको अध्यक्ष रहेको ११ सदसीय सञ्चालक समिति गठन गरिएको छ। समितिमा प्रेम गिरी, झलक दर्लामी, बसन्त बानियाँ, रामचन्द्र उप्रेती, ज्ञानुराम प्रसाई, शिबकुमार ढुङ्गेल, गणेश ढकाल, सुबास भट्टराई, देविभक्क्त श्रेष्ठ र गणेशप्रसाद पोखरेल छन्। यसैगरी झापाको स्थानीय तह स्तरमा पनि लगानी व्यवस्थापनको लागि समिति बनाइएको छ। यो आयोजनाको कुल लागत ८७.९८ करोड हुनेछ।
वार्षिक उत्पादन १.५५ करोड युनिट विद्युत् शक्ति हुनेछ। आयोजनबाट वार्षिक ११।३० करोड हुने लक्ष्य राखिएको छ। वार्षिक सञ्चालन ४४ लाख गरेर वार्षिक नाफा १०।८६ करोड राखिएको छ। यो आयोजना सम्पन्न गर्नका लागि समय भने एक वर्षको राखिएको छ। विद्युत खरिद बिक्री सम्झौता र उत्पादन अनुमतिपत्र ६ महिना लाग्नेछ। यस्तै संरचना निर्माण र सोलार जडानमा ६ महिना समय लाग्नेछ।
यो आयोजना सम्पन्न भएपछि कृर्षि, रिसोर्ट, माछापालन, फनपार्क लगायतका क्षेत्रमा सामुहिक लगानी जुटाएर काम गर्ने योजना रहेको सांसद साँवाले बताए। झापाका हरेक नागरिकलाई सुखी र समृद्ध बनाउनका लागि सामूहिक लगानीको काम प्रयास अन्तरगत यो आयोजना अघि सारिएको उनको भनाइ छ। हरेक नागरिकलाई उत्पादनसँग जोड्ने अभियानको सुरुवात भएको उनी बताउँछन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सुखी नेपाली, समृद्ध नेपाल अभियानको एउटा सानो अंश यो पनि भएको उनले बताए। थाहाखबरबाट



