गलकोट, १२ फागुन (रासस) : बसाइँसराइले सामाजिक काम र बाँझो जमीनको कुरै छाडौँ, बागलुङको एक गाउँमा जिउँदा जन्ती मर्दा मलाम जाने मानिससमेत छैनन् । जिल्लाको गलकोट नगरपालिका–७ (साविक मल्म गाविस– ९) स्थित टोकरी गाउँ बसाइँसराइका कारण रित्तिएको छ ।

गाउँको खेतीयोग्य अधिकांश भूमि बाँझो छ भने पाखापखेरा रुख बिरुवाले भरिएका छन् । गाउँनै सुनसान छ । गाउँमा अहिले वृद्धवृद्धा तथा बालबालिका पनि न्यून मात्रमा देखिन्छन् । टोकरीका स्थानीयहरु शिक्षा, स्वास्थ्य, खानेपानी, सडकलगायत भौतिक पूर्वाधारको खोजीमा बसाइँसराइ गर्दा गाउँनै रित्तिएको स्थानीयहरूले बताएका छन् । चालीस घर रहेको टोकरी गाउँमा बसाइँसराइका कारण अहिले १३ घरमा मात्र स्थानीय बसोबास गर्दै आएका र बाँकी घर खण्डहर जस्तै भएको स्थानीय गङ्गाबहादुर थापाले बताउनुभयो । “बसाइँसराइले गाउँनै खाली हुन लाग्यो, मर्दा पर्दा अगाडि सरेर काम गर्ने कोही छैनन्”, थापाले भन्नुभयो, “मर्दा शव उठाउने युवाहरू समेत नहुँदा महिलाहरूले शव बोक्नुपर्ने अवस्था छ ।”

टोकरीका अधिकांश युवाहरू जापानलगायतका मुलुकमा जाने र शहर बजारमा घर खरीद गर्दा बसाइँसराइ बढेको हो । टोकरीका स्थानीयबासिन्दा नगरपालिकाको केन्द्र रहेकोे हटिया, जिल्ला सदरमुकाम बागलुङ, पोखरा, काठमाडाँै, बुटवल, चितवनलगायतका क्षेत्रहरुमा बसाइँसराइ गर्ने गरेका छन् ।

दश वर्षदेखि यता बसाइँसराइको दर ह्वातै बढेपनि कानूनीरूपमा बसाइँसराइ गरेर जाने परिपाटी नरहेको कार्यवाहक वडाध्यक्ष लोकबहादुर थापाले बताउनुभयो । “कानूनी प्रक्रियाका लागि देशको जुनसुकै स्थानमा गए पनि वडामा आउने गरेका छन्”, उहाँले भन्नुभयो, “ठेगाना स्थानीय भए पनि गाउँमा बस्ने न्यून छन् ।” अहिले टोकरी गाउँमा बालबालिका, वृद्धवृद्धा गरी करीब ६० जना रहेको स्थानीय विष्णु थापाले बताउनुभयो ।

गाउँमा धेरैजसो उमेर ढल्केकाको मात्र बाहुल्य छ । स्कुले विद्यार्थीहरु शहर बजार र युवायुवतीहरु विदेश गएका कारण गाउँमा सामाजिक काम गर्नसमेत मुस्किल परेको थापाले बताउनुभयो । सबैले गाउँ छाडेर जान थालेपछि गाउँका खेतीयोग्य जमीन बाँझो रहेको छ भने घाँसपात गर्ने पाखापखेरा झाडीमा परिणत भएका छन् ।

बढ्दो बसाइँसराइका कारण टोकरी गाउँमा रहेकोे देउराली आधारभूत विद्यालयमा समेत विद्यार्थीको सङ्ख्या घटेर अन्य विद्यालयसँग गाभ्ने अवस्थामा पुगेको छ । कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा जम्मा १४ विद्यार्थी रहेको प्रधानाध्यापक केयरसिंह थापाले बताउनुभयो ।

गाउँमा सामान्य आधारभूत सेवा सुविधाको पहुँच नपुग्नु र विप्रेषणमार्फत आएको रकम शहर बजारमा लगानी गर्नु नै बसाइँसराइको प्रमुख कारण रहेको स्थानीयहरु बताउँछन् । टोकरी गाउँ जिल्लामै उच्च बसाइँसराइ हुने गाउँ मध्येमा पर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah