काठमाण्डु, १४ फागुन– नयाँ शक्ति पार्टीका रसुवाबाट निर्वाचित प्रदेश सांसद प्रेमबहादुर तामाङलाई पार्टी प्रवेश गराउने भन्दै काँग्रेस सभापति शेरबहादुर देउवा सोमबार रसुवा पुगे । देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला र नेता गगन थापा पनि रसुवा पुगे ।
काँग्रेसले प्रेमबहादुरले पार्वतीकुण्ड गाउँपालिका प्रमुख बुचुङ तामाङसहित नयाँ शक्तिको सिंगो रसुवा जिल्ला समिति नै आफ्नो पार्टीमा विलय गराउने भन्दै भड्किलो प्रचार गरेको थियो । कालिका स्थानमा निर्माण गरिएको कार्यक्रमको मञ्चमा एकता सभा लेखिएको थियो । काँग्रेसले आफ्नो मञ्चमा नयाँ शक्तिको समेत झण्डा टाँगेको थियो ।
नेताहरु सबै पुगे, कार्यक्रम सुरु हुने बेला भइसक्यो तर, तामाङ आएनन् । तामाङ एकाएक सम्पर्कविहीन भएपछि काँग्रेस रसुवाका नेताहरु असिनपसिन भए । केन्द्रीय नेतासँग जिल्ला नेताले माफी मागे । अन्ततः तामाङ नआएपछि देउवासहितका नेता सांस्कृतिक कार्यक्रममा सहभागी भएर फर्किए ।
तामाङ गत निर्वाचनमा नयाँ शक्तिका तर्फबाट रसुवा ‘ख’ बाट प्रदेश–३ को साँसद निर्वाचित भएका थिए । नयाँ शक्तिले संघीय संसदको सदस्यमा निर्माण व्यवसायी मोहन आचार्यलाई सघाएको थियो । सो बापत काँग्रेसले तामाङलाई प्रदेशसभामा जिताएको थियो । यता नयाँ शत्तिले भने तामाङलाई पार्टीबाट निलम्बन गरिसकेको छ ।



