काठमाडौं, १६ फागुन । बहालवाला पर्यटमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि नेपालले ठूलो जोखिम बेहोर्नुपर्ने भएको छ । अहिलेसम्म युरोपेली युनियनले नेपालको आकाश सुरक्षित नभएको भन्दै कालोसूचीमा राख्दै आएको छ । मन्त्री अधिकारीले आफ्नो कार्यकालमा इयूको कालोसूचीबाट नेपाललाई हटाउने प्रयत्न अन्तिम चरणमा पु¥याएका थिए । तर, अब उनको भौतिक शरीर रहेन । बुधबार ताप्लेजुङको फुङलिङमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित उच्चपदस्थ उड्डयन अधिकारी र वायुसेवा सञ्चालकको मृत्यु हुने गरी भएको डाइनेस्टी एयरको हेलिकोप्टर दुर्घटना भयो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार योसहित नेपालमा हेलिकोप्टर दुर्घटनामा मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।
नेपालमा ४० वर्षमा ३५ वटा हेलिकोप्टर दुर्घटना भएका छन् । जसका कारण अहिलेसम्म ९१ जनाले ज्यान गुमाएका छन् । नेपालमा पहिलो पटक सन् १९७९ मा लाङटाङमा भीआईपी हेलिकोप्टर दुर्घटना भएको थियो । यो दुर्घटनामा ६ जनाले ज्यान गुमाए । सन् १९९७ मा थुप्तेन छोलिङमा एकजनाको ज्यान जाने गरी कर्णाली एयरको हेलिकोप्टर दुर्घटना भयो । सन् १९९८ मा मूलखर्कमा भएको अर्को दुर्घटनामा तीनजनाको ज्यान गयो । सन् २००३ मा रारा तालमा फिस्टेलको हेलिकोप्टर खस्यो, जसमा चारजनाको निधन भयो । सन् २००२ मा एसियन एयरको हेलिकोप्टरमा सवार ११ जनाले सोलुखुम्बुमा ज्यान गुमाए ।
सन् २००३मै सिम्रिक एयरको हेलिकोप्टर सगरमाथा बेस क्याम्पमा दुर्घटनामा पर्दा तीनजनाको मृत्यु भयो । २००५ मा रामेछापको ठोसेमा हेलिहान्सको हेलिकोप्टर दुर्घटना हुँदा तीनजनाले ज्यान गुमाए । सन् २००६ मा सबैभन्दा ठूलो हेलिकोप्टर दुर्घटना भयो, वन राज्यमन्त्री राईसहित संरक्षणविद् हर्क गुरुङ लगायत सवार श्री एयरलाइन्सको हेलिकोप्टर घुन्सामा दुर्घटनामा पर्दा २४ जनाको एकै चिहान भए । सन् २००९मा हुम्लाको रुम्दीकोटमा मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा एकजनाको ज्यान गयो । २०१० मा फिस्टेल एयरको हेलिकोप्टर अम्दाब्लक हिमालमा दुर्घटनामा पर्दा दुईजनाको मृत्यु भयो ।
सन् २०१३ र २०१४मा क्रमशः सिमीकोट र सिन्धुपाल्चोकमा भएको हेलिकोप्टर दुर्घटनामा एक–एकजना मारिए । २०१५ मा माउन्टेन हेलीको हेलिकोप्टर सिन्धुपाल्चोककको यमुना डाँडामा खस्यो, जसमा चारजनाले ज्यान गुमाए । यस्तै, २०१५ मा भूकम्प प्रभावितको उद्धारका लागि गएको अमेरिकी सेनको हेलिकोप्टरमा दोलखाको घोर्थलीमा दुर्घनामा हुँदा ६ जना अमेरिकी सैनिकसहित आठजनाले ज्यान गुमाए । २०१६ मा नुवाकोटको बेतिनीमा फिस्टेलको हेलिकोप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भयो । गत वर्ष अल्टिच्युड एयरको हेलिकोप्टर नुवाकोटको मैलुङमा खस्दा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
-मिडिया एनपी बाट



