काठमाडौं । रवीन्द्र अधिकारीको निधनपछि रिक्त बनेको कास्कीको चुनाव क्षेत्रमा आफू उम्मेदवार बन्ने भनी चलाइएको हल्लाको वामदेव गौतमले भत्र्सना गरेका छन् । उनको भनाइ छ– त्यहाँ म उम्मेदवार बन्नुपर्छ भनेर पार्टीले निर्णय गर्यो भने पनि अस्वीकार गर्छु ।
‘पिता पुत्रको जस्तै थियो वामदेव गौतम र रवीन्द्र अधिकारीको सम्वन्ध’– नेकपाका एक नेता भन्छन् । उनका अनुसार रवीन्द्रले कहिल्यै वामदेवको साथ छाडेनन् । दुवैको विश्वाशपूर्ण सम्वन्ध थियो ।
पछिल्लो कालमा रवीन्द्रलाई गुट राजनीतिको मोहभंग भइसकेको थियो । उनी पार्टीभित्र गुटगत गतिविधिमा देखिन चाहँदैनथे । बरु, मन्त्रालयका विकास निर्माणको काममा अहोरात्र लाग्थे । विगतमा एमाले विभाजन हुँदा रवीन्द्र मालेमा थिए, वामदेवको साथमा थिए । वामदेवसँग गहिरो पारिवारिक सम्वन्ध थियो रवीन्द्रको । त्यहि भएकाले वामदेव रवीन्द्रको दाहसंस्कारमा पोखरा नै पुगेका थिए । रवीन्द्रसँगको भावनात्मक सम्वन्ध नबुझेकाहरुले वामदेवको पोखरा उपस्थितिलाई गलत अर्थ लगाइदिए । वामदेव उम्मेदवार बन्ने भनी हल्ला चलाइदिए ।
‘फेरी कुत्सित उद्देश्य प्रेरित कुप्रचार मेरा विरुद्ध शुरु भयो’– वामदेवको विज्ञप्तिमा उल्लेख छ ।
उनले लेखेका छन्– ‘नेपाली राजनितिक आकासमा उज्वल भविष्य सहित उदाएका मेरा प्रिय कमरेड रविन्द्र अधिकारीको असामयिक निधनवाट ठूलो धक्का महसुस गर्दै श्रद्धान्जली दिन पोखरा पुगेको घटनालाई आधार बनाएर मलाई दिवंगत रविन्द्रको निर्वाचन क्षेत्रवाट उमेदवार वन्ने आशा राखेको आरोप लगाइएको छ।’
‘यो मेरो चरित्र हत्या गर्ने निकृष्ट र षडयन्त्रमूलक विचार राखेर शुरुगरिएको कुप्रचार मात्र हो’– वामदेवको भनाइ छ– ‘मृत्यु शोकमा पाइला टेकेर व्यक्तिगत स्वार्थ पूरा गर्ने विचारलाई मैले कहिल्यै मान्यता दिइन, जीवनभर दिने पनि छैन। मेरो इच्छा विपरित पार्टीले निर्णय गरेछ भने पनि म कमरेड रवीन्द्रको निधनवाट खालिभएको निर्वाचन क्षेत्रमा उमेदवार वन्ने छैन।’
रवीन्द्रको परिवारको सदस्यलाई नै नै उमेदवार वनाउनुपर्ने विचार पनि वामदवले राखेका छन् ।



