काठमाडौं – बंगालको खाडीको दक्षिण पूर्वी भागमा देखिएको शक्तिशाली चक्रावातको प्रभाव नेपालसम्मै देखिएको छ । शुक्रवार बिहानैदेखि राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा चक्रवात अर्थात् फानीको प्रभाव देखिएको हो ।

काठमाडौंमा हावाहुरी र मेघगर्जन भइरहेको छ भने वर्षा हुने सम्भावना समेत रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रवार बिहान सार्वजनिक सूचना जारी गर्दै फानीको प्रभावले देशभर मौसम खराब हुने जानकारी दिएको थियो । महाशाखाको जानकारी अनुसार नै मौसम प्रभावित भएको छ ।
‘चक्रवात नेपालतर्फ आउने सम्भावना अहिलेसम्म नदेखिएपनि यसको प्रभावबाट नेपालको पूर्वी र मध्य क्षेत्रमा आज (शुक्रवार) र भोलि (शनिवार) मौसम प्रभावित भइ पूर्वी र मध्यका स्थानहरूमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने तथा १–२ स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहको छ,’ सूचनामा लेखिएको छ, ‘हिमाली भूभागमा पनि मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको देखिन्छ । साथै देशको पश्चिमी क्षेत्रमा आज (शुक्रवार) पश्चिमी वायुको प्रभाव रहने हुँदा केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिन्छ र हिमाली भूभागमा पनि हिमपातको सम्भावना रहेको छ ।’
आइतवारदेखि देशभर मौसममा क्रमिक रुपमा सुधार आउने सम्भावना रहेको महाशाखाले जनाएको छ । लोकान्तर बाट साभार



