
६ चैत । बैकहरुले मनखुसि ब्याजदर बढाएर जनताको ढाड सेकेको बिषयमा दमक उद्योग बाणिज्य संघले आवाज उठाएपछि यसमा नेपाल राष्ट्र बैकको ध्यान केन्द्रित भएको पाईएको छ । राष्ट्र बैकले यस्तो कार्य रोक्नका लागि कसरत शुरु गरेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुमा देखिएको उन्मुक्तिलाई अब भने नेपाल राष्ट्र बैंकले नियन्त्रण गर्ने संकेत देखाएको छ । पछिल्लो समय ऋणीहरुलाई पूर्वसूचना नै नदिई जथाभावी रुपमा ब्याजदर बढाउने कार्यमा बैंक तथा वित्तीय संस्थाहरुले फड्को मारेको हुँदा राष्ट्र बैंकले त्यस्तो बैंकहरुमाथि कडाइ गर्ने सम्भावना देखिएको छ ।
राष्ट्र बैंकले ब्याजदर निर्धारण तथा पुनरावलोकनसम्बन्धी प्रावधान परामर्शपत्र ल्याएर बैंक तथा वित्तीय संस्थाहरुको व्याजदरमा कडाइ गर्न लागेको हो । सो परामर्शपत्रका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले वर्षमा दुई पटक मात्र व्याजदर वृद्धि गर्न पाउने छन् । साथै, बैंकहरुले ऋण प्रवाह गरेको ६ महिनाअघि व्याजदर परिवर्तन गर्न पाउने छैनन् ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले कर्जा संकुचन बेहोरिरहेको हुँदा अधिकांश बैंकहरुले जथाभावी ढंगले महिनामै दुई दुई पटकसम्म व्याजदर वृद्धि गरेका थिए । बैंक तथा वित्तीय संस्थाहरुले आफूखुसी व्याजदर वृद्धि गर्दा पनि नियमनकारी निकाय राष्ट्र बैंकले चासो दिइरहेको थिएन । तर, बैंक तथा वित्तीय संस्थाहरुले आफूखुसी व्याजदर वृद्धि गर्न थालेपछि निजी क्षेत्रका उद्योगी÷व्यवसायीहरुले राष्ट्र बैंकको ध्यानाकर्षण गराउँदै आएका थिए ।
परामर्शपत्रमा अबदेखि बैंक तथा वित्तीय संस्थाहरुले ऋणको व्याजदर बढाउँदा सम्बन्धित ऋणीलाई पूर्वसूचना दिनुपर्ने कुरा उल्लेख गरिएको छ । वर्ष दिनभन्दा लामो ऋणको व्याजदर बढाउँदा ४५ दिनअघि नै सूचना दिनुपर्ने पनि परामर्शपत्रमा उल्लेख छ । तर, बैंक तथा वित्तीय संस्थाहरुले कर्जा संकुचनको समस्या झेल्न थालेपछि भने ऋणीहरुलाई कुनै सूचना नै नदिई व्याजदर वृद्धि गरिएको थियो ।



