उदयपुर / ऐतिहासिक तथा धार्मिक महत्व बोकेको हजारौँ वर्ष पुरानो बहुआकृतिको पञ्चेश्वर गुफा ओेझेलमा परेको छ । उचित व्यवस्थापन, संरक्षण र प्रचारप्रसारको अभावमा उदयपुरको त्रियुगा नगरपालिका १४ साउने बजारभन्दा २ किलोमिटर दक्षिण निपाने भीरमा बहुआकृतिसहितको पञ्चेश्वर गुफा ओझेलमा परेको हो ।स्थानीयले वहुआकृतिसहितको गुफा दशकअघि फेला परे पनि आवश्यक प्रचार प्रसार र संरक्षणको अभावमा अहिलेसम्म आन्तरिक तथा बाह्य पर्यटकहरुको नजरमा पर्न सकेको छैन । गणेशको सुँढ, मयुर नाचेको प्रष्ट बुट्टा देखिने कलात्मक कृतिहरु भएको गुफा पर्यटकको पर्खाईमा ओझेलमा परेको छ ।
ओढारभित्रदेखिएको गणेश आकारको मुर्ती ।
साउने थुम्काको शीरमा मुहान भएर बग्ने चुनिया खोलादेखि झण्डै एक किलोमिटर ठाडो उकालो चढेपछि पुगिने सो गुफाको स्थानीयले ‘पञ्चेश्वर महादेव’ नामाकरण गरेका छन् । खोलादेखि उकालो चढ्दा सुरुमा भेटिने ठूलो आकारको कलात्मक ढुंगाको ओढारदेखि गुफा सुरु हुन्छ । ओढारको दक्षिणमा एक जनामात्र छिर्न मिल्ने द्वारबाट सुरु हुने गुफा भित्र भित्रै नागबेली लहराझै घुमेर झण्डै ६ सय मिटर लम्बाईको दूरी पार गरेपछि उत्तरतर्फ निस्कने उस्तै द्वार रहेको पुजारी ६७ वर्षीय खामबहादुर मगरले बताए । स्थानीयका अनुसार लगभग ३०÷३५ वर्षअघि स्थानीय बुढापाकाले बीच जंगलमा सो गुफा पत्ता लगाएका हुन् ।



