काठमाडौँ । तपाई काठमाडौं उपत्यकामा घर बनाउने सोचमा हुनुहुन्छ ? कति छ तपाईसंग पैसा ? कति लाग्छ खर्च ? उपत्यकामा साढे २२ सय स्वायकर फिटको साढे २ तले घर बनाउने हो भने करिब ७० लाख रुपैयाँ खर्च लाग्ने इन्जिनियरहरु बताउँछन् ।

इन्जिनियरहरुका अनुसार उपत्यकामा एउटा घर बनाउन कम्तिमा पनि ६५ लाख र बढीमा ७० लाख रुपैयाँसम्म खर्च लाग्ने गरेको छ । काठमाडौं उपत्यकामा नै आवाशीय घर बनाइरहेका ठेकेदारहरुका अनुसार ७० लाख रुपैयाँको हाराहारीमा काठमाडौंमा साढे २ तले घर बनाउन सकिन्छ ।
घर बनाउने ठाउँ, प्रयोग गरिने निर्माण सामाग्रीको गुणस्तर जस्ता बस्तुको प्रयोगले मूल्यमा केही तलमाथि पार्न सक्छ । यस्तै घरको क्षेत्रफल तथा जग्गाको बनोटको हिसावले पनि मूल्य कम वा बढी हुन सक्छ ।
केकेमा कति लाग्छ त खर्च ?
गिट्टी : ८ टिपर, प्रतिटिपर ३६ हजार रुपैयाँका दरले २ लाख ८८ हजार रुपैयाँ ।
सिमेन्ट : ११०० बोरा, प्रतिबोरा औसत ८ सय रुपैयाँका दरले ८ लाख ८० हजार रुपैयाँ ।
बालुवा : १३ टिपर, प्रतिटिपर २७ हजार रुपैयाँका दरले ३ लाख ५१ हजार रुपैयाँ ।
इट्टा : ५० हजार पिस – प्रतिपिस १७ रुपैयाँका दरले ८ लाख ५० हजार रुपैयाँ ।
छड : १३ टन – प्रतिकेजी ८७ रुपैयाँका दरले ११ लाख ३१ हजार रुपैयाँ ।
प्लम्बिङ (ज्याला सहित) : करिब ४ लाख रुपैयाँ ।
काठका चौकोस र ढोकाहरु : करिब ३ लाख रुपैयाँ ।
आल्मुनियमका झ्यालहरु करिब २ लाख रुपैयाँ ।
झ्यालहरुमा हाल्ने डन्डी लगायत करिब ३ लाख ५० हजार रुपैयाँ ।
धारा, चुकुल, ताल्चा लगायत करिब २ लाख ५० हजार रुपैयाँ ।
रङ : करिब ३ लाख रुपैयाँ ।
किचन, बाथरुमको मार्वल : तीन वटा बाथरुम र दुई वटा किचनको लागि करिब २ लाख ५० हजार रुपैयाँ ।
घर बनाएको ज्याला करिब १३ लाख ५० हजार रुपैयाँ ।
बिद्युत सम्बन्धी सामाग्री (ज्याला सहित) करिब २ लाख रुपैयाँ ।
नक्सा डिजाइन करिब ६० हजार रुपैयाँ ।
नगरपालिका खर्च करिब ६० हजार रुपैयाँ ।
इनार बनाउन करिब ५० हजार रुपैयाँ ।
अन्य छिटफुट खर्च ३ लाख रुपैयाँ ।



