काठमाडौ । सबैभन्दा पवित्र दिनको रुपमा मानिने नाग पञ्चमी यो बर्ष साउन २० गते सोमवारका दिन परेको छ । भगवान शिवको गलामा बस्ने नाग भगवान शिवकै पवित्र दिन साउने तेस्रो सोमबारका दिन पर्नु निक्कै शुभ संयोग हो । यो दिन नाग पञ्चमी र कल्की जयन्ती एकै दिन मनाईन्छ । नागपञ्चमी सर्पको पूजा गर्ने दिन हो। नागपञ्चमी श्रावण महिनामा शुक्ल पक्षको पञ्चमीका दिन मनाइन्छ। यो श्रद्धा र विश्वासको पर्व हो। नागलाई धारण गर्ने भगवान् भोलेनाथको पूजा आराधना गर्नु पनि यो दिनमा शुभ मानिन्छ।
नाग पञ्चमीको विशेषता
आजको दिन नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोका माथि टाँस्ने गरिन्छ। आजको दिनदेखि वषर्याम समाप्त भई हिउँद सुरू भएको पनि मान्ने गरिन्छ। नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म , तक्षक, कुलीर, कर्कट र शङ्ख नागको चित्र टाँस्नाले त्यस्तो घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको छ। ज्योतिषशास्त्र-अनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन। भूमिमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने संभावना भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ मानिदैंन।
नाग पञ्चमीमा व्रतको विधि
नाग पञ्चमीमा नाग देवताका निमित्त व्रत लिने गरिन्छ। यस व्रतमा पूरै दिन व्रत बसेर सूर्यास्त भएपछि नाग देवताको पूजाका लागि खीर प्रसाद पकाई, त्यसलाई सर्व प्रथम नाग देवताको मूर्ति अथवा शिव मन्दिरमा अर्पण गरी (भोग लगाई) प्रसादका रूपमा वितरण गर्ने र आफू स्वयंले समेत ग्रहण गर्नु पर्दछ। व्रत अवधिभरि कुनै किसिमको भोजन गर्नुहुँदैन नै, र समाप्तिमा समेत नुन खानु वा चिल्लोचापिल्लो परिकारहरूको प्रयोग पनि वर्जित छ। साथै व्रतसँग सम्बन्धित सबै नियमको पालना गर्नुपर्दछ।
मुख्य द्वारमा नाग देवताको आकृतिको पूजा
नाग पञ्चमीमा नागको चित्र बनाई पूजा गरेर घरमा टाँस्नाले सर्प भए हुदैन भन्ने हिन्दू शास्त्रको मान्यता रहेको छ। पश्चिम नेपालका अधिकांश जस्तै:- दैलेख, अछाम, कालिकोट, आदी जिल्लाहरूमा नाग पञ्चमीका दिन देखी हिउँद लाग्छ भन्ने भनाई रहेको छ। नेपालको सुदूर तथा मध्य पश्चिममा नाग पञ्चमीका दिन कागजमा नाग, बिछ्छी जस्ता बिषालु जिव जनावरहरूका चित्र बनाएर पूजा गरी घरको दैलोमा टाँस्ने चलन छ।
यसका साथै नाग पञ्चमी र श्रीपञ्चमीका दिनमा हलसारो गर्न दिन जुराउनु पर्दैन भन्ने धार्मीक मान्यता रहेकाले हलसारो (पहिलो पटक हलो जोताई) गरेर हिउँदे खेतीको तयारी थाल्ने चलन पनि रहेको छ भने बडिमालिका लगायत विभिन्न ठाउँमा छरिएर रहेका मालिका मन्दिरमा पूजा गर्न जाने श्रदालुहरूले व्रत गर्ने, भूमी सयन गर्ने र ब्रह्मचार्य धारण गर्ने चलन रहेको छ। नाग पञ्चमीका दिन नेपाल र भारतका विभिन्न नाग देवताको मन्दिरहरूमा नाग पञ्चमी मेला लाग्दछ।
नागपञ्चमीका दिन व्रतालुले पाँचवटा टाउका भएको वा अष्टकुली नागको आकृति बनाई आफ्नो घरको ढोकामा गाईको गोबरले टाँस्ने चलन छ। गोबरको अभावमा गमको प्रयोग पनि गर्न सकिन्छ। त्यसपछि नागदेवतालाई दूध, दुबो, कुश, चन्दन, फूल, अक्षता, लड्डू अर्पण गरी पूजासमेत गरेर निम्नाङ्कित नाग स्तोत्रको पाठ गर्ने गरिन्छ :-
नागगायत्रीको मन्त्र (ॐ नव कुलाय विध्महे विषदंताय धीमहि तन्नो सर्पः प्रचोदयात्)को समेत एक माला (१०८ पटक) जप गर्ने गरिन्छ। यो नागमन्त्रको तीन माला जाप गर्दा नाग देवता प्रसन्न हुन्छन् भन्ने विश्वास छ। नागदेवतालाई श्रीखण्डको सुगंध विशेष प्रियकर हुन्छ। त्यसैले नागपूजामा श्रीखण्ड चंदनको प्रयोग गर्नु राम्रो मानिन्छ, त्यस्तै आजको दिनको पूजनमा सेतो कमलको प्रयोग गर्ने विधान छ। आज यी सम्पूर्ण कृत्य गर्न सक्दा ‘कालसर्प योग’ दोषको शान्ति पनि हुन्छ।
के नाग पूजा गर्नाले सर्प भए हुदैनत ?
हुनत सबै चाड पर्वहरू मनाउनुको पछाडी कुनै न कुनै रहस्य लुकेको हुन्छ। यस्तै हिन्दूहरूले प्रत्यक वर्ष श्रावण शुक्ल पक्षको पञ्चमी तिथीमा मनाउने नाग पञ्चमीको महत्व पनि त्यतिकै देखिन्छ। यो पर्व बर्षायाममा पर्ने भएकाले सर्प बिछ्छी आदी बिषालु जनावरहरूको प्रकोप हुनु स्वभाविकै हो हिन्दू धर्मको मान्यता अनुशार यो दिन नागको पूजा गर्नाले सर्पहरूका राजा नाग देवता खुसी हुन्छन् त्यसैले नाग पूजा गर्ने मान्छेलाई सर्पको डर हुन्न भन्य छ।
यो कुरा सत्य होस् अथवा न होस् तर नाग पूजा गर्दा सर्पको डर नहुने केही कारणहरू छन्। बर्षायाममा घर वर पर ठुल ठुला झारहरू उम्रिएर सर्प तथा अन्य बिषालु जिव जनावरहरू घरमा भित्रिने पर्वल सम्भावना रहन्छ अर्को कुरा साउन भदौ तिर बर्षा भयो भने भारी बर्षा हुने र घाम लागेमा निकै टन्टलापुर गर्मी हुने गर्छ यस्तो मौसममा सर्पहरू घाम र पानीबाट बच्ने ठाउँको खोजीमा हुन्छन् यस्तो अवसरमा घर वर पर जंगल भएमा सर्पहरू सोझै घरमा पस्न आउछन्। मानिसहरू चाड पर्वमा घरको अन्य कामकाज छोडेर पनि आफ्नो घर आगन सफा गर्छन् यसरी घर आगन सफा भएर घर वरपर नाङ्गो भयो भने सर्पहरूको डर हुने कुरै भएन। यस कारण नाग पञ्चमीमा नागको पूजा गर्नाले सर्पको डर हुदैन भन्य कुरा १००% सत्य मानिन्छ।



