पशुपतिनाथ क्षेत्र विकास कोषले १० वर्षपछि पशुपतिनाथ मन्दिरको पूर्वी ढोका सर्वसाधारणका लागि खुल्ला गरेको छ । २०६५ सालदेखि सर्वसाधारणका लागि बन्द गरिएको पूर्वी ढोका यसै वर्षको तीजदेखि खुला गरिएको हो ।

कोषले पूर्वी गेटलाई लामो समयदेखि पशुपतिनाथ मन्दिरमा जल ल्याउनका लागि मात्र प्रयोग गर्दै आएको थियो । कोषका सदस्यसचिव डा. प्रदीप ढकालले यस वर्षको तीजदेखि सधैंभरीका लागि पूर्वी ढोका सर्वसाधारणका लागि खुल्ला हुने बताए ।

तीजमा छिटो र सहजरुपमा पशुपतिनाथ मन्दिरको दर्शन गराउनका लागि आजबाट पूर्वी ढोका खोलिएको हो । अब सधैंभरी सर्वसाधारणका लागि यो ढोका खुल्ला हुन्छ ।’

तीज, बालाचतुर्दशी, महाशिवरात्रि, साउने सोमबार जस्ता बढी भीड हुने पर्वमा धेरै समयसम्म लाइनमा बस्नु परेको गुनासो भक्तजनबाट आउन थालेपछि कोषले पूर्वी ढोका पनि खुल्ला गरेको हो ।

पूर्वी ढोकासँगै यस वर्षको तीजमा भक्तजनका लागि चार वटा दर्शन मार्गको व्यवस्था गरिएको छ । यस वर्षको तीजमा सामान्यतया आधा घण्टा र बढीमा दुई घण्टाभित्र भक्तजनले दर्शन गरिसक्ने गरी स्वयंसेवकलगायत सुरक्षाकर्मी र कर्मचारीलाई परिचालन गरिएको कोषका सदस्यसचिव डा. ढकालले बताए ।

पहिलो बाटो प्रयोग गर्नेहरुले गुहृयेश्वरी-गौरीघाट-उमाकुण्ड-दक्षिणामूर्ति-रुद्रगाडेश्वर-वासुकी हुँदै उत्तर ढोकाबाट पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेर पूजा आजा गरिरहेका छन् ।

दोस्रो बाटोको रुपमा जयवागेश्वरी-भुवनेश्वरी-शंकराचार्य मठ हुँदै फलामेपुल-पश्चिम सानो ढोकाबाट मन्दिर प्रांगण प्रवेश गर्ने व्यवस्था मिलाइएको छ ।

यसैगरी तेस्रो बाटोको रुपमा एयरपोर्टतर्फबाट-पिंगलास्थान-वनकाली-चार शिवालय हुँदै पञ्चदेवल पूर्व-बज्रघर-दक्षिण ढोकाबाट प्रवेश गर्ने व्यवस्था मिलाइएको छ ।

यस्तै चौथो लाम बत्तीसपुतली-गौशालातर्फबाट पिंगलास्थान-वनकाली-चार शिवालय हुँदै पञ्चदेवल पूर्व-बज्रघर-दक्षिण ढोकाबाट मन्दिर प्रांगण प्रवेश गर्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय