
बिष्णुप्रसाद पोखरेल
दमक । जिल्लामा आर्यूबेद उपचारमा आकर्षण बढेपछि र बाहिर बिरामी ठगिन थालेपछि जटिल प्रकारका केहि रोगी तथा बिरामीहरुको जिल्ला आयूर्बेद स्वास्थ्य केन्द्र झापा चन्द्रगढीले आन्तरिक श्रोत जुटाएर उपचार शुरु गर्ने भएको छ । नयाँ बर्षको शुरुवातसंगै पञ्चकर्म तथा छारसूत्र उपचार शुरु गर्ने निर्णय गरिएको जिल्ला आर्यूबेद औषधालयका प्रमुख डा. केनिन राइले बताउनु भयो ।
पर्याप्त बजेट नभएपनि र सरकारले यो उपचारको लागि आवश्यक उपकरण र औषधि उपलब्ध नगराएपनि जिल्लाभर रहेका आर्यूबेद स्वास्थ्य केन्द्रहरुको सहयोगमा बिरामीहरुलाइ उपचार दिने निर्णय भएको उहाँले बताउनु भयो । जिल्लामा रहेका बिभिन्न आर्यूबेद औषाधलयहरुमा आएका बिरामीहरुलाइ बाहिर उपचारमा पठाउदा बिरामी ठगिएको र धेरै पैसा तिर्नु परेकाले आर्यूबेद उपचार महगो भएको भ्रम पर्न गएकाले आफूहरुले यो निर्णय गरेको केन्द्रका प्रमुख राइले जनाउनु भयो ।
छारसूत्रको प्रयोगबाट झापामा सरकारी स्तरबाट पहिलोपटक यसरी उपचार शुरु हुन लागेको र यो बिरामीका लागि महत्वपूर्ण हुने बताईएको छ । कविराज निरिक्षक बेदप्रसाद शर्माका अनुसार पञ्चकर्मको माध्यमबाट कफदोष अर्थात कफका बिरामी, पीत्त दोषका बिरामी र बाथदोष अर्थात बाथका बिरामीहरुको उपचार हुनेछ ।
यो एक प्रकारको थेरापी बिधि नै भएकाले यसमा बिरामीहरु धेरै आकर्षित हुन्छन् । पुराना जेष्ठ नागरिकहरुले यहि उपचार खोज्दै आउने गरेको पनि आयूर्बेद स्वास्थ्य केन्द्रहरुले जनाएकाछन् । दीर्घ रोग भएकाहरु यसबाट छूटकारा पाउनेछन् । यो बिधिबाट बाहिर उपचार गराउदा बिरामीले हजारौ रुपिया खर्च गर्दै आउनु परेको उहाँले बताउनु भयो ।
यसैगरि पायल्स, फिस्टूला, फिसर अर्थात मलद्धार चिरिएको उपचार समेत गरिने कविराज शर्माले जानकारी दिनु भयो । यो रोगबाट धेरै पीडित रहेकाछन् । उपचार र औषधि निशुल्क भएपछि यसमा आकर्षण बढ्ने र आयूर्बेलप्रति जनबिश्वास थप प्रगाढ हुने पनि अपेक्षा लिइएको जिल्ला आर्यूबेद स्वास्थ्य केन्द्रका प्रमुख डा. राइ बताउनु हुन्छ । झापामा सरकारी आठ वटा आयूर्बेद औषधालयहरु रहेकाछन् ।



