काठमाडौं । प्रेम प्रस्ताव अस्वीकारपछि एसिड आक्रमणमा परेकी १५ वर्षीया मुस्कान खातुनलाई बलिउड सुपरस्टार अमिताभ बच्चनले भिडियो सन्देश पठाएका छन् ।
उनले उज्ज्वल विक्रम थापामार्फत भिडियो सन्देश पठाएर स्वास्थ्य लाभको कामना गरेका छन् । थापाले खातुनको उपचारमा सहयोग गरिरहेका छन् ।
अमिताभको भिडियो सन्देश बुधवार दिउँसो काठमाडौंको कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उपचार गराइरहेकी मुस्कानलाई देखाइएको थियो । भिडियोमा मुस्कानलाई भएको घटनामा आफूलाई दुःख लागेको बच्चनले बताएका छन् ।
‘तपाईंलाई के भयो भन्ने मलाई उज्वलले बताए,’ अमिताभले भिडियोमा भनेका छन्, ‘तपाईलाई जे भयो, त्यो निकै दर्दनाक हो । यस्तो घटना थाहा पाएर दुःख लाग्यो ।’
https://youtu.be/CyHTN1GwhTE
अमिताभले आइन्दा कोही बालिकामाथि त्यस्तो नहोस् भन्ने कामना पनि गरेका छन् । उनले नेपालको कानुनअनुसार दोषीलाई पक्राउ गरेर कारबाही हुने अपेक्षा गरेका छन् । एसिड पीडित खातुनलाई यसअघि बलिउड नायक बरुण धवन, नायिका कृति सेननलगायतले स्वास्थ्य लाभको कामना गरेका थिए ।
पर्साको वीरगञ्जकी खातुनलाई गत भदौ २० गते दुई जना युवाले पानी भनेर एसिड खुवाउन लागेका थिए । उनले एसिड खान नमानेपछि उनीहरुले अनुहारमा छ्यापेर फरार रहेका थिए ।
https://youtu.be/-qb89rPBPvI



