स्वास्थ्य मन्त्री गगन थापाले सचिवालयमा नियुक्त गरेका जम्बो सल्लाहकार र स्वकीय सचिवहरुबीच एकापसमै मनोमालिन्य सृजना भएको छ । मन्त्री थापाका प्रमुख सल्लाहकार प्रताप पौडेल र बजेट तथा नीति कार्यक्रम सल्लाहकार यादव पद्योतीको हैकमका कारण शैलेस सिटौला लगायतका अरु कर्मचारी रुष्ट भएका छन् । उनीहरुले स्वास्थ्यका नियुक्तिदेखि सरुवामा अपारदर्शी चलखेल गर्न थालेपछि पीए र सल्लाहकारमा एकापसमै बेमेल सृजना भएको छ । पीएहरुबीच बढेको विवाद मिलाउन मन्त्री थापाले समेत सकेका छैनन् ।
पौडेल र पद्योतीले मन्त्री नै आफू भएझैं कुनै काम नै नभए पनि मन्त्रालयका कर्मचारीलाई कार्यालय समयअगाडि नै बिहानै बोलाएर दुःख दिने गरेकाले कर्मचारी पनि आजित हुन थालेका छन् । पौडेल र पद्योतीले स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङदेखि मन्त्रालयका सचिव डा. सेनेन्द्रराज उप्रेतीलाई समेत बाइपास गर्दैआएका छन् । सचिवले ऐन नियम र कार्ययोजना अनुसार काम गर्नुपर्छ भन्दा पौडेल र पद्योतीले सचिवविरुद्ध मिडियामा ‘गगनको गति रोक्ने प्रयास’ भन्दै प्रायोजित समाचार लेखाउने गरेका छन् ।
मिडियामा मन्त्री थापालाई सफल बनाउन आफ्नो भूमिका भएको भन्दै प्रशस्तीगान समेत प्रकाशित गरी अर्को रमिता प्रदर्शन गरेपछि सचिवालयभित्रकै कर्मचारीहरुले पद्योती र पौडेलले सीमा नै नाघेको गुनासो गर्न थालेका छन् । पौडेल र पद्योतीको हैकमले सीमा नाघेपछि सिटौलाहरु मन्त्रालयमा पनि कम आउन थालेका छन् । पद्योती र पौडेलले गगन थापालाई सफल बनाउन योगदान गरेको प्रायोजित चाकडी प्रकाशित गराएको कुरा सार्वजनिक भएपछि स्वास्थ्यमा पीएहरुको विवाद छताछुल्ल भएको हो । सचिवालयमा कार्यरत पद्योती त निजामती कर्मचारी हुन् । उनी कृषि विकास कार्यालय सोलुखुम्बुका योजना अधिकृत हुन् । तर उनले कृषि विकास कार्यालयबाट बिदा समेत नलिई स्वास्थ्य मन्त्री थापाको सल्लाहकार भएर दोहोरो सुविधा समेत लिने गरेका छन् ।



