डोटी । बोगटान फुड्सिल गाउँपालिका–६ सुनगडामा मिनीट्रक दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । निर्माणाधीन मौरासेन सेती हाइड्रोपावरमा काम गर्ने कामदार लिएर आउँदै गरेको बा २ क २७३९ नम्बरको मिनीट्रक बिहीबार दुर्घटना हुँदा चारजना घाइते भएका हुन्।
ट्रक सडकबाट करिब ५०० मिटर तल खोलामा खसेको बताइएकाे छ। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । घाइते हुनेमा बाँकेको राजापुर–२ का ५० वर्षीय शान्त मल्ल, भारतको हससोलका ५५ वर्षीय किशोर सिंह, बाँकेको गुरुवा गाउँपालिका–५ बयलपुरका मिनीट्रक चालक ३० वर्षीय रमाल वाया र रामेछाप लिखु गाउँपालिका–६ का १९ वर्षीय भोजनारायण श्रेष्ठ रहेका छन् । उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।



