दमक। सोमबार झापाका ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै झापामा कोरोना संक्रमण हुनेको संख्या ३ सय १६ पुगेको छ । सोमबार कोरोना पुष्टि हुनेमा झापाको दमक नगरपालिकाका, गौरीगञ्ज गाउँपालिका र कचनकवल गाउँपालिकाका एक एक जना छन् । दमकबाट पठाइएका २१ जना मध्ये १ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको दमक नगरपालिकाका क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुवेरप्रसाद भट्राईले जानकारी दिनुभयो । उनका अनुसार संक्रमित दमकको मानसरोबर क्वारेन्टाइनमा बस्दै आएका ४३ वर्षीय पुरुष हुन् । उनी गत ३१ गते दुबईबाट स्वदेश फर्किएका थिए । उनी दमक–१ का हुन् । योसँगै दमकमा कोरोना संक्रमण हुनेको संख्या ११ पुगेको छ । यद्यपी ८ जनाले कोरोना जितिसकेका पनि सदस्यसचिव भट्टराईले जानकारी दिनुभयो । दमकबाट १४ पुरुष र ७ महिला गरी २१ जनाको स्वाब पीसीआर परीक्षणका लागि प्रादेशिक प्रयोगशाला विराटनगर पठाइएको थियो । जसमा मानसरोबर क्वारेन्टाइनका ९ जना, होम क्वारेन्टाइनका ८ जना, अस्पतालका २ जना, पाथिभरा होटल क्वारेन्टाइनका १ जना र विज्ञान पार्कको महिला क्वारेन्टाइनका १ जना थिए । संक्रमण पुष्टि भएका पुरुषलाई उपचारका लागि गोठगाउँ स्थित पूर्वाञ्चल विश्वविद्यालयको कोभिड अस्पताल पठाइएको पनि सदस्यसचिव भट्टराईले जानकारी दिनुभयो । त्यस्तै गौरीगञ्ज गाउँपालिकाको वडा नम्बर ५ का ३७ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको गाउँपालिकाको फोकल पर्सन अनुप शर्माले जानकारी दिनुभयो । उनी गत असार २३ गते भारतबाट जोगवनी नाका हुँदै आएका थिए । त्यस्तै अर्का कचनकवल गाउँपालिका –३ का ५५ वर्षीय पुरुष हुन् । उनी गत असार २६ गते भारतबाट काँकडभिटा नाका हुँदै स्वदेश फर्किएका थिए ।



