काठमाण्डौ। कोरोना भाइरस संक्रमणका कारण भारतमा एक मन्त्रीको मृत्यु भएको छ। बीबीसी हिन्दीका अनुसार कोरोना संक्रमणबाट उत्तर प्रदेश मन्त्रिपरिषदकी मन्त्री कमला रानी वरुणको निधन भएको हो। उनमा गत जुलाई १८ मा कोरोना संक्रमण पुष्टि भएको थियो।
त्यसपछि मन्त्री कमलालाई लखनऊस्थित एसजीपीजीआई अस्पतालमा भर्ना गरिएको थियो। तर उपचारकै क्रममा आज बिहान उनको निधन भएको बीबीसी हिन्दीले उल्लेख गरेको छ।
उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले मन्त्री कमलाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। यसैकारण उनले आज अयोध्या जाने कार्यक्रमसमेत स्थगन गरेका छन्।
कमला उत्तर प्रदेश सरकारकी शिक्षामन्त्री थिइन्। सन् २०१७ मा भारतीय जनता पार्टीले उनलाई कानपुरको घाटमपुरबाट निर्वाचनमा उम्मेदवार बनाएको थियो। उनी त्यहाँबाट जित्ने पार्टीको पहिलो विधायक बनेकी थिइन्। त्यसपछि गत वर्ष उनलाई मन्त्री बनाइएको थियो।



