स्याङ्जा ,धार्मिक रूपमा पहिचान हुन नसकेको स्याङ्जा जिल्ला गल्याङ नगरपालिका १ मालुङ्गाको महालिंग धाम उत्तरवाहिनी क्षेत्रको धार्मिक पहिचान भएसंगै पछिल्लो समय यहाँ धर्मावलम्बीहरूको घुइँचो लाग्ने गरेको छ ।धार्मिक ग्रन्थ अनुसार उत्तरतर्फ बगेको कालीगण्डको विशेष महत्त्व हुने भएतापनि पछिल्लो समयमा मात्रै यसको चर्चा हुन थालेको हो । यो ठाउँ हाल ‘उत्तरवाहिनी ‘ नामले परिचित भएको छ । यही उत्तरवाहिनीको धार्मिक महत्त्व झल्काउने गरि उत्तरवाहिनी भजन बजारमा आएको हो।हिन्दु धर्मको महत्व बोकेको पर्यटकको घुइँचो लाग्ने लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशको संगमस्थल उत्तरवाहिनीको प्रचारप्रसारको लागि बजारमा ल्याइएको भजनमा प्रेम न्यौपाने तथा तुलसी प्रभासको शब्द रहेको छ भने गायकहरु अमित सापकोटा, प्रेम न्यौपाने, खेमराज पौडेल, शिवा केसी, दामोदर भण्डारी, सीता थापा मगरले आवाज दिएका छन् ।
स्याङ्जाको मालुङ्गा र पाल्पाको हुँगीको सीमामा अवस्थित उत्तरवाहिनी क्षेत्रको महत्त्वलाई समेटेर तयार पारिएको भजनमा रिता बस्याल न्यौपानेले निर्देशन गरेकी छिन् भने उक्त भजनको व्यवस्थापकीय पाटो चैतन्यकृष्णले हेरेका छन् । भजनमा विपिन तिवारी, सञ्जु न्यौपानेसँगै कालीगण्डकी गुरुकुलका विद्यार्थीहरूको अभिनय रहेको छ ।विगत पाँच वर्षदेखि चैतन्यकृष्णको नेतृत्वमा यस क्षेत्रलाई धार्मिक,सांस्कृतिक तथा वैज्ञानिक केन्द्र बनाउने उद्देश्यले श्री कालीगण्डकी ज्ञान–विज्ञान प्रतिष्ठानको स्थापन गराई विभिन्न कामहरू अघि बढिरहेको छ ।देशको एक मात्र अंग्रेजीमाध्यममा पठाइ हुने प्रविधियुक्त आधुनिक गुरुकुल स्थापना गरेको प्रतिष्ठानको आगामी उद्देश्य प्राकृतिक एवं आयुर्वेदिक चिकित्सा केन्द्र, योग तथा साधन केन्द्र, खोज तथा अनुसन्धान केन्द्र, धार्मिक(संस्कृतिक संग्राहलय आदिको स्थापना मार्फत् वैज्ञानिक ऋषि उत्पादन गर्ने रहेको संस्थाका अध्यक्ष चैतन्यकृष्णले जानकारी दिए ।



