इटहरी/ प्रदेश एकका मोरङ र सुनसरी जिल्लामा भएका तीन अलग अलग घटनामा चार जनाको मृत्यु भएको छ । ईटहरी १४ नर्भासा नहरमा पौडी खेल्ने गएका दुई बालकको डुबेर मृत्यु भएको हो भने मोरङमा सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।डुबेर मृत्यु हुनेमा ईटहरी–७ का १४ बर्षीय आयुष भुर्तेल र सोही ठाउँका १७ बर्षीय सायल चौधरी रहेका छन । हिजो बेलुका ६ बजे नहरमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनीहरुलाई स्थानीय सहित खोजी गरिरहेको प्रहरीले फेला पारेर उपचारका लागि घोपा धरान पठाएकोमा उपचारको क्रममा भुर्तेलको राती ११ बजे र चौधरीको सवा ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
सवारी दुर्घटनामा
त्यसैगरी मोरङ सुन्दरहरैचा–७ बस्ने ६५ बर्षीया मैया श्रेष्ठको टिफरको ठक्करबाट मृत्यु भएको हो । आज बिहान सवा ५ बजे सुन्दरहरैचा–७ स्थित राजमार्गमा प्रदेश १– ०२–००१ ख ८५३० नम्बरको टिफरले पैदल हिडिरहेकी मैयालाई ठक्कर दिदा उनी गम्भिर घाइते भएकी थिईन । गम्भिर घाईते उनको नोबेल अस्पताल बिराटनगरमा उपचार क्रममा ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने टिफर र चालक सुन्दरहरैचा–५ का कुमार भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।यसैगरी मोरङ सुनबर्षी–८ का ३० बर्षीय बिरेन्द्र प्रसाद मण्डलको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको छ । आज बिहान सवा ४ बजे सुनबर्षी–८ मा भारतीय मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल पछाडी सवार मण्डलको मृत्यु भएको हो । मोटरसाईकल चालक सोही ठाउँका २९ बर्षीय चन्दन केवट नियन्त्रणमा रहेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।



