संवैधानिक परिषदसम्बन्धी अध्यादेश विरुद्ध सुनुवाइ गर्न बस्ने संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो भूमिकालाई खुम्च्याएका छन् ।
शुक्रबार रिट निवेदकहरुले प्रधानन्यायाधीश जबरालाई उक्त मुद्दामा स्वार्थ बाझिने भन्दै इजलासमा नबस्न दबाब दिएका थिए ।
सो रिट निवेदनमाथिको सुनुवाइबाट प्रधानन्यायाधीश अलग हुने कि नहुने भन्नेबारे लामो बहसपछि प्रधानन्यायाधीश जबराले इजलासमा आफ्नो भूमिका सीमित तुल्याएका हुन् । जसअनुसार सो रिट निवेदनमाथिको पेसी तोक्न उनको भूमिका रहने छैन ।
रिट निवेदनको पेसी तोक्ने अधिकार वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीले पाएका छन् । यस्तै मुद्दाको फैसला हुने दिन प्रधानन्यायाधीश जबरा बिदामा बस्नेछन् ।
यसअघि इजलासमा रिट निवेदक ओमप्रकाश अर्याल, दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश जबरालाई इजलासमा नबस्न सुझाव दिएका थिए ।



